
दाङ । नयाँ शैक्षिक सत्र २०८२ सुरु भएको हप्तादिन बढी हुनै लाग्दा सामुदायिक विद्यालयहरु सुनसान छन् । विद्यार्थी भर्ना हुनुपर्ने, शिक्षकहरू व्यस्त हुनुपर्ने र अभिभावकहरू उत्साहित हुनुपर्ने बेलामा शिक्षकको आन्दोलनका कारण विद्यालयहरू बन्द छन् ।
सामुदायिक विद्यालयमा अघिल्लो सत्रको वार्षिक परीक्षा सकिएपछि विद्यार्थी विद्यालय आउन सकेका छैनन् । कतिपय विद्यालयमा परीक्षाफल समेत अहिलेसम्म प्रकाशित हुन सकेको छैन ।
शिक्षक महासंघको आन्दोलनका कारण अहिले भर्ना कार्यक्रम पूर्ण रूपमा ठप्प छ । सरकारले वैशाख १ गतेदेखि भर्ना अभियान सुरु गरे पनि सामुदायिक विद्यालयमा कुनै चहलपहल छैन् । शिक्षा समन्वय इकाई दाङका अनुसार जिल्लामा ४५८ सामुदायिक विद्यालय छन् । जसमा गएको शैक्षिक सत्रमा २ लाख १ हजार विद्यार्थी अध्ययनरत थिए ।
नेपाल बाल संगठन दाङका अध्यक्ष विनोद केसीका अनुसार करिब २ लाख बालबालिका भर्नाबाट बञ्चित भएका छन् । उहाँले आन्दोलन जायज भए पनि लाखौं बालबालिकाको भविष्यको ख्याल गर्नुपर्नेमा शिक्षकहरूलाई स्मरण गराउनुभएको छ ।
शिक्षकहरूको आन्दोलनले अभिभावकलाई महँगो शुल्क तिरेर छोराछोरीलाई बोर्डिङ स्कुलमा भर्ना गर्न बाध्य बनाएको गुनासो समेत बढेको छ । आन्दोलनरत शिक्षक महासंघ दाङका अध्यक्ष युवराज बस्नेतले सहमति भएका विषय कार्यान्वयन नभएकोले पुनः आन्दोलन गर्नुपरेको बताउनुभयो ।
पद्मोदय मावि घोराहीका व्यवस्थापन समिति अध्यक्ष विकास चौधरीले सरकार र शिक्षक दुवै पक्ष विद्यार्थी र अभिभावकको अधिकारप्रति जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।