
तुलसीपुर ।
दाङको तुलसीपुर उपमहानगरपालिकाले किसानहरूलाई ५० प्रतिशत अनुदानमा मकैको बीउ वितरण गर्ने भएको छ । कृषि विकास शाखामार्फत चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यक्रम अन्तर्गत अनुदानमा उन्नत जातको मकैको बीउ वितरण गर्ने भएको हो ।
तुलसीपुर उपमहानगरपालिका भित्रका कृषक, कृषक समूह, कृषि सहकारी र कृर्षि फर्महरुले बीउ प्राप्त गर्नको लागी वैशाख १० गतेभित्र आवश्यक कागजातहरूसहित आवेदन दिनुपर्ने प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेद्धारा हस्ताक्षरीत सूचनामा भनिएको छ ।
बीउ लिन इच्छुकले भोली बुधबार वैशाख १० गतेभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्ने प्रमुख प्रशासकीय अधिकृत पार्धेले जानकारी दिनुभयो । रामपुर कम्पोजिट जातको मकैको उन्नत जातको बीउ उपलब्ध गराउने कृषि विकास शाखाले जनाएको छ ।

मकैको बीउ लिनको लागि किसानहरुले सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र, कृषकको नागरिकताको प्रतिलिपि, जग्गाको क्षेत्रफल खुल्ने कागजात वा लालपुर्जाको प्रतिलिपि, कृषक समूह, कृषि सहकारीको हकमा संस्थाको निर्णय र प्रमाणित प्रतिलिपि लिएर आउन सूचनामा भनिएको छ ।