दाङ । शिक्षक महासंघको नेतृत्वमा विगत २१ दिनदेखि जारी आन्दोलनको निचोड निकाल्नेतर्फ चासो नदिएको नतिजा सरकारले व्यहोर्न थालेको छ । शिक्षकका समस्या समाधानका लागि सोमबार मात्रै राजीनामा दिएकी शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको सात बुँदे प्रस्ताव अस्वीकार गरेका प्रधानमन्त्री केपी शर्मा ओली अन्तिम समयमा पछि हट्न बाध्य हुनुभएको छ ।
भट्टराईको राजीनामापछि शिक्षामन्त्रीको समेत कार्यभार सम्हालिरहेका ओलीकै निर्देशनमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले मंगलबार बिहान बिहीबार भोलिदेखि निजामती कर्मचारी खटाएर कक्षा १२ को जाँच गराउने निर्णय गर्नुभएको थियो ।
तर उक्त निर्णयलाई लिएर आन्दोलित शिक्षक महासंघले मंगलबार दिउँसो वक्तव्य जारी गर्दै देशभरका शिक्षक कर्मचारीलाई परीक्षामा कुनै हालतमा सहभागी नहुन आग्रह गरेको थियो ।
शिक्षकहरूले बहिष्कारका लागि आग्रह गरेपछि निजामती कर्मचारी खटाएर परीक्षा गराउने बोर्डको योजनामा धक्का लागेको छ । परीक्षा हुने वातावरण नदेखेपछि बोर्डले अब वैशाख २१ गतेदेखि मात्रै १२ को परीक्षा गराउने भएको छ ।
कर्मचारीसमेत असहयोगमा उत्रिएपछि हच्किएको सरकारले १२ कक्षाको परीक्षा वैशाख २१ गतेदेखि हुने गरी सारेको छ । तर नतिजा प्रकाशनमा शिक्षकको असहयोगले कक्षा १० को अन्तिम परीक्षा दिएर बसेका पाँच लाख १४ हजार १७ विद्यार्थीको कापी परीक्षण पनि ठप्प छ ।
शिक्षक आन्दोलनका लागि काठमाडौंमा केन्द्रित छन् । त्यसका कारण सामुदायिक विद्यालयका ५५ लाख बालबालिकाले नयाँ शैक्षिक सत्रमा विद्यालय जान पाएका छैनन् । तत्कालै विद्यालय शिक्षा ऐन जारी गर्नु पर्ने शिक्षक महासंघको माग छ । तर शिक्षा ऐए अझै संसदीय प्रक्रिययामा छ ।















