
दाङ। बालबालिकाको सुनौलो भविष्य निर्माणका लागि अभिभावकमाझ सचेतना फैलाउने उद्देश्यसहित ‘सुनौलो भविष्य’ कार्यक्रम दाङमा जारी रहेको छ । यही अभियान अन्तर्गत बिहीबार तुलसीपुर–१० स्थित पड्ढाको मिलनटोल विकास संस्थामा अभिभावक सचेतना गरिएको छ ।
दाङ भ्याली माध्यमिक विद्यालय तुलसीपुर र रेडियो हाम्रो पहुँचको संयुक्त आयोजनामा भएको कार्यक्रममा अभिभावकहरूलाई बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा आवश्यक भूमिका, शिक्षा, व्यवहार, सुरक्षालगायत विविध विषयमा सचेतना प्रदान गरिएको हो ।
दाङ भ्याली मावि तुलसीपुरका अध्यक्ष तिलक शाहुले फल राम्रो हुन बोट राम्रो हुनुपर्ने भन्दै बालबालिका असल र नैतिकवान हुन अभिभावकले असल संस्कार दिनुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय मोबाइलको प्रयोग अत्याधिक हुँदा बालबालिका बोल्ने शैलीमा समेत समस्या देखिन थालेको बताउनुभयो । उहाँले लागूऔषध दुर्व्यसन गर्ने बढ्दै जाँदा नियन्त्रणमा चुनौति देखिन थालेको बताउनुभयो ।
कार्यक्रममा सहभागी अभिभावकहरूले यस प्रकारका सचेतनामूलक कार्यक्रमले आफूहरूमा नयाँ ज्ञान र जागरुकता ल्याउने प्रतिक्रिया दिएका छन् । मिलन टोल विकास संस्थाका अध्यक्ष धनिराम चौधरीले यस किसिमको कार्यक्रम आगामी दिनमा पनि गरिनुपर्ने बताउनुभयो ।
यस्तै युवा व्यवसायी पुरन चौधरीले पब्जि र फ्रि फायर गेमको लतबाट बालबालिकालाई अलग गराउनुपर्ने बताउनुभयो । यस्तै गणेशमान चौधरी र सरिता चौधरीले बालबालिकालाई असल र नैतिकवान बनाउनका लागि अभिभावकले बालबालिकाका लागि समय दिनुपर्ने बताउनुभयो । कार्यक्रम : सुनौलो भविष्य रेडियो हाम्रो पहुँचबाट हरेक शुक्रबार साँझ ५ : १० दखि ५ः४० सम्म प्रशारण हुने हुने गरेको छ ।