२०८२ जेष्ठ ८ गते बिहिवार

सरकार र आन्दोलरत शिक्षकबीच आज फेरि वार्ताको तयारी

दाङ । सरकार र शिक्षकहरुबीच हिजो हुने भनिएको वार्ता रोकिएको छ । वार्ताका लागि शिक्षा मन्त्रालयले नै शिक्षकहरूको टोली बनाएको भन्दै नेपाल शिक्षक महासङ्घ उपस्थित नभएपछि वार्ता हुन नसकेको हो ।

मन्त्रालयले छलफलका लागि बोलाएपछि शिक्षक सङ्घ–सङ्गठनका केही प्रतिनिधि हिजो मन्त्रालय पुगिसकेका थिए ।

सिंहदरबार गेटमा मन्त्रालयले पठाएका २५ शिक्षकको नाम देखेपछि वार्ताको लागि जान लागेका महासङ्घका प्रतिनिधिहरु फर्किएका थिए । शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरूबाटै प्राप्त नामका आधारमा प्रतिनिधिलाई सिंहदरबार बोलाइएको भन्दै त्यसमा आपत्ति भए वार्ता टोली गठन गर्न महासङ्घलाई आग्रह गरेका छन् ।

शिक्षक महासङ्घले बनाउने आधिकारिक वार्ता टोलीसँग वार्ता गरी समस्या समाधान गर्न तयार रहेको मन्त्री पन्तको भनाइ छ । सरकार र शिक्षकबीच आज फेरि वार्ताको तयारी छ । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै शिक्षक महासङ्घ २५ दिनदेखि काठमाण्डौ आन्दोलनमा छ ।

शिक्षकहरु आन्दोलनमा रहँदा सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना, पठनपाठनसँगै एसईईको उत्तरपुस्तिका परीक्षण र अस्ति बिहीवारदेखि शुरू हुनुपर्ने कक्षा १२ को परीक्षामा प्रत्यक्ष असर गरेको छ ।

सर्वोच्च अदालतले अस्ति बिहीवार तीन दिनभित्र विद्यालयमा पठनपाठनको वातावरण मिलाउन आदेश दिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस