तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नंम्बर १३ ले सामुदायीक विद्यालयलाई नियमित पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको छ । वडा कार्यालयले आज आइतबार एक सूचना जारी गर्दै विद्यालयलाई नियमित पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको हो ।
वैशाख १४ गतेसम्म पनि वडाका केही सामुदायीक विद्यालयमा विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण र कक्षा सञ्चालन नभएको गुनासो आएकोले नियमित पठनपाठन सञ्चालन गर्न निर्देशन दिइएको वडाध्यक्ष मोहनलाल पौडेलले जानकारी दिनुभयो ।
वैशाख १५ गते अर्थात भोली सोमबार देखि अनिवार्य रूपमा विद्यार्थी भर्ना, पुस्तक वितरण, तथा नियमित रूपमा कक्षा सञ्चालन गर्न निर्देशन दिइएको छ । बलबालिकाको पढ्न पाउने नैसर्गिक अधिकार हनन् गर्ने छुट कसैलाई नभएको भन्दै वडा अध्यक्ष पौडेलले इमान्दारीपूर्वक वडाको निर्देशन कार्यान्वयन गर्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, कर्मचारी सबैलाई अनुरोध गर्नुभएको छ ।

साथै विद्यालयहरूले यो निर्देशन पालना गरे नगरेको वडाले अनुगमन गर्ने र निर्देशन पालना नगर्ने विद्यालयहरुलाई वडाबाट कुनै प्रकारको सहयोग नहुने वडा अध्यक्ष पौडेलद्धारा हस्ताक्षरीत सूचनामा उल्लेख गरीएको छ ।













