२०८२ जेष्ठ ८ गते बिहिवार

तुलसीपुरमा रात्रिकालिन बजार संचालन गर्ने तयारी


दाङ – दाङको तुलसीपुरमा रात्रिकालिन व्यवसाय संचालन गर्ने तयारी गरिएको छ । रात्रिकालिन व्यवसाय संचालनका लागि आवश्यक प्रक्रिया अघि बढेको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले जानकारी दिनुभयो ।

उहाँले रात्रिकालिन व्यवसाय संचालन कार्यविधि बनिरहेको बताउँदै केहि दिनमा प्रमुख जिल्ला अधिकारीलाई बुझाउने बताउनुभयो ।

संघको शनिबार भएको ३० औँ वार्षिक साधारणसभामा अध्यक्ष केसीले तुलसीपुरको अर्थतन्त्रलाई थप चलायमान बनाउन र व्यवसाय प्रवद्र्धनका लागि रात्रिकालिन व्यवसाय संचालनको प्रक्रिया अघि बढाएको बताउनुभयो ।

रात्रिको समयम विषेशगरी होटल व्यवसाय अबेरसम्म संचालन गर्ने गरी कार्यविधि निर्माण भइरहेको अध्यक्ष केसीले बताउनुभयो । उहाँले रात्रिमा व्यवसाय संचालन गर्नका लागि स्थानीय प्रशासनले आवश्यक सहयोग गर्नेमा विश्वस्त रहेको बताउनुभयो ।

तुलसीपुर साविक राप्ती अञ्चलको पुरानो बजार हो । दाङको प्रमुख बजारको रुपमा रहेको तुलसीपुरमा रात्रिकालिन व्यवसाय संचालन नहुँदा टाढाबाट रात्रिमा आउने नागरिकले होटलमा बास पाउन समस्या भोग्नुपरेको छ ।

नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष दुर्गालाल केसीले रात्रिकालिन व्यवसाय संचालन भएमा व्यवसायीमात्रै नभएर उपभोक्तालाई पनि सहज हुने बताउनुभयो । रात्रिकालिन बजार संचालन भएमा दिनभर व्यस्त हुने नागरिकलाई किनमेल गर्न सहज हुने उहाँको भनाई छ । तुलसीपुरमा होटल व्यवसाय रात्रि ९ बजेसम्ममात्रै संचालन हुने गरेको छ भने अन्य व्यवसाय ८ बजेअघि नै बन्द हुने गरेका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस