२०८२ जेष्ठ ८ गते बिहिवार

तुलसीपुर चेम्बर अफ कमर्शको भित्तेपात्रो विमोचन


दाङ । तुलसीपुर चेम्बर अफ कमर्शले सोमबार नयाँ वर्ष २०८२ सालको भित्तेपात्रो विमोचन गरेको छ । पात्रोको विमोचन तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले गर्नुभएको हो ।

पात्रोको विमोचन गर्दै नगरप्रमुख खड्काले गत फागुनमा लागेको महोत्सवको आयव्यय सार्वजनिक गर्न आग्रह गर्नुभएको छ । उहाँले महोत्सव सकिएको लामो समय हुनै लाग्दा आयव्यय सार्वजनिक नहुँदा प्रश्न उठ्न थालेकाले सार्वजनिक गरेर स्पष्ट पार्नुपर्ने बताउनुभयो ।

उहाँले मेला महोत्सव स्थानीय वस्तुको प्रर्वद्धन भन्दा पनि निश्चित व्यवसायीले फाइदा लिने थलोको रुपमा विकास हुन थालेको हुँदा व्यवसायीको नेतृत्व गर्नेले सोच्नुपर्ने बताउनुभयो ।

पछिल्लो पटक चेम्बरले महोत्सव लगाउँदा तुलसीपुर उपमहानगरपालिकाले करिब ३० लाख राजश्व लिन सफल भएपनि समग्ररुपमा स्थानीय व्यापार व्यवसायमा असर गरेको बताउनुभयो ।

तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष ऋषिराज भण्डारीले महोत्सवको आयव्यय जतिसक्दो छिटो सार्वजनिक गरिने बताउनुभयो । उहाँले नेतृत्व सफल हुनका लागि सम्पूर्ण पदाधिकारी तथा व्यवसायीको साथ र सहयोग हुनपर्ने बताउनुभयो । उहाँले आफ्नै कार्यकालमा चेम्बरको भवन निर्माण गरिने समेत बताउनुभयो ।

भित्तेपात्रो विमोचन कार्यक्रममा प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ तुलसीपुरका अध्यक्ष जनकप्रसाद खराल र नेकपा माओवादी केन्द्र तुलसीपुरका मोहन थापाले चेम्बरलाई सक्रिय बनाउनुपर्नेमा जोड दिनुभयो । कोषाध्यक्ष लोकेन्द्र वलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण महासचिव दुर्गाप्रसाद शर्माले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस