
दाङ । बर्सिम घाँसखेतीमा दाङका किसानको आर्कषण देखिएको छ । किसानले बर्सिम घाँसको बिउ बिक्री गरेर समेत लाखौँ रुपैयाँ आम्दानी समेत गर्न थालेका छन् । गाई, भैसी, बाख्राले अत्याधिक मन पराउने बर्सिम घाँस खेती गरेर किसानले मनग्य आम्दानी गर्न थालेका हुन् ।
घोराही उपमहानगरपालिका–६ का मिकसर चौधरीले २२ कट्ठा जमिनमा बर्सिम घाँसखेती गर्नुभएको छ । कात्तिकदेखि बैशाखसम्म हरियो घाँस काटेर भैँसी र भेडालाई खुवाउने र बिउ बिक्री पनि गरिरहेको उहाँले बताउनुभयो ।
गत वर्ष दुई लाखको घाँसको बिउ बिक्री गरेको चौधरीले जानकारी दिनुभयो । यो वर्ष पनि प्रशस्त दाना लागेकाले गत वर्षभन्दा बढी आम्दानी हुने उहाँको विश्वास छ ।
मिकसरले दुई वटा दुहुना भैँसी र आठ वटा भेडा पाल्नुभएको छ । उहाँले खेतमा घाँस खेती गर्न थालेपछि हिउँदको समयमा घाँस खोज्न जान नपरेको र समयको वचत भएको बताउनुभयो ।
घोराही–६ का प्रेम चौधरीले घरमा बिउ उत्पादन गरेर बर्सेनि घाँसखेती गरिरहेको बताउनुभयो । प्रेमले घाँसका लागि पशुपालक किसानको घाँसखेतीमा आकर्षण बढेको जानकारी दिनुभयो ।
गत वर्ष ९० हजारको घाँसको बिउ बिक्री गरेको जनाउँदै प्रेमले यो वर्ष एक लाखभन्दा बढीमा बिक्री हुने अनुमान गरेको बतउनुभयो ।
घोराही–५, ६, ७, ८ र १७ का कृषकले १५ कट्ठादेखि २५ कट्ठासम्ममा घाँसखेती गरेका घाँस बिउ उत्पादक संघले जनाएको छ । अन्य बालीभन्दा धेरै फाइदा हुने भएपछि यसतर्फ किसानको आकर्षण बढेको संघका सचिव विमल अधिकारीले जानकारी दिनुभयो ।
घोराही–६ को गुरुवागाउँ, गुरगै, जजरागाउँ, बेरुवागाउँ, बेरगै, फचकपुर र अघरा तथा घोराही–१७ को कर्जाही र गैरागाउँका किसानले विगत १० वर्षदेखि बर्सिम घाँसखेती गरिरहेका छन् । यो घाँस खाएका पशुले दूध उत्पादन बढाउने गरेकाले अत्यन्तै लाभकारी भएको अधिकारीले बताउनुभयो ।