२०८२ जेष्ठ ८ गते बिहिवार

सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै

दाङ । आर्थिक सहयोग जुटाएर तुलसीपुर उपमहानगरपालिका–४ स्थित एका घरका चार दृष्टिविहीनलाई आवास निर्माण बनाउन थालिएको छ । तुलसीपुरका व्यवसायी यज्ञबहादुर केसीको संयोजकत्वमा निर्माण समिति गठन गरी सोमबारदेखि आवास निर्माण थालिएको हो ।

२३ वर्षीय गणेश गन्धर्व, उहाँकी बहिनी गङ्गा, जमुना र मनिषा जन्मजात नै दृष्टिविहीन हुनुहुन्छ । १६ वर्षीया मनिषा दृष्टिविहीनसँगै बहुअपाङ्ग हुनहुन्छ । रुकुमपश्चिमको सानीभेरी गाउँपालिका गरायलाका आमा रुपा गन्धर्वसहित गन्भर्व परिवार २०६८ सालमा दाङको तुलसीपुर आएको थियो । सबै छोराछोरी दृष्टिविहीन जन्मिएपछि श्रीमााले अर्को विवाह गरेको रुपाले बताउनुभयो । त्यसपछि रुपालाई श्रीमानले कुनै हेरचाह नै नगर्ने तथा घरबाट निकाला गरेपछि बिचल्ली अवस्थामा उहाँलाई उद्धार गरेर तुलसीपुरस्थित रक्षाचौर ल्याइएको थियो ।

विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा उनीहरु दाङको तुलसीपुर आए पनि भाडाको घरमा बस्दै आएका थिए । भाडामा बस्दा पनि पीडा झेलेका उनीहरुको अहिले आवास निर्माण हुन थालेपछि भने खुसी छन् । गणेशले सारङ्गी बजाएर, गीत गाएर आएको थोरै रकमले घरखर्च चल्ने गरेको थियो । अब घर बनेपछि भाडा तिर्नुनपर्ने हुँदा सहज हुने गणेशले बताउनुभयो ।

करिब १५ लाख लागत अनुमान गरेर घर निर्माण सुरु गरिएको निर्माण समितिका संयोजक केसीले बताउनुभयो । अबको एक महिनाभित्र घर निर्माण पूरा भइसक्ने उहाँको भनाइ छ । यसै क्रममा केसीले अहिलेसम्म घर निर्माणका लागि ४० हजार सहयोग गरिसम्नुभएको छ ।

निर्माण भइरहेकाले लाग्ने सबै खर्च व्यहोर्ने गरी काम अघि बढाइरहेको उहाँले बताउनुभयो । दृष्टिविहीन गणेशसहित गङ्गा, जमुना गुरुजजुर नमूना माविमा ब्रेललिपिमार्फत अध्ययन गदै आएका छन् । हाल आमा रुपाको खातामा विभिन्न सङ्घसंस्थाको सहयोगमा सात लाख सहयोग सङ्कलन भएको थियो । त्यो रकम बैंकमा मुद्दति खातामा छ । त्यसबाट आउने मासिक ब्याजले पनि घर खर्च चलाउन सजिलो भएको बताइएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस