२०८२ जेष्ठ ८ गते बिहिवार

नेपाल संस्कृत विश्वविद्यालयमा चार महिनादेखि तालाबन्दी


दाङ । नेपाल संस्कृत विश्वविद्यालयमा तालाबन्दी गरिएका कारण चार महिनादेखि प्रशासनिक, आर्थिक र शैक्षिक गतिविधि प्रभावित भएको छ ।

बेलझुन्डीस्थित केन्द्रीय कार्यालय र अनुसन्धान केन्द्रका कर्मचारीले कार्यालयबाहिरै हाजिर गरिरहेका छन् । उनीहरूले तालाबन्दी भएदेखि नै तलब पाएका छैनन् ।

विश्वविद्यालयमा अनियमितता रोकी दोषीलाई कारबाही गर्नुपर्ने, केन्द्रीय आयुर्वेद विद्यापीठमा अस्पताल निर्माण गर्नुपर्ने, केन्द्रीय आयुर्वेद विद्यापीठ र बीपी संस्कृत विद्यापीठ सोलुखुम्बुमा छात्रावास निर्माण गर्नुपर्नेलगायतका माग राख्दै माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारीले गत १२ पुसमा केन्द्रीय कार्यालयको मूल गेटमा ताला लगाएको थियो ।

फागुनदेखि अनुसन्धान केन्द्रको कार्यालयमा पनि तालाबन्दी गरिएको छ । विश्वविद्यालयमा पठनपाठन भने भइरहेको छ । ताला खुलाउने विषयमा पटकपटक वार्ता भए पनि सहमति हुन सकेको छैन । विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले पटकपटक वार्ता भएको र अधिकांश माग सम्बोधन भइसकेको बताउनुभयो ।

केन्द्रीय आयुर्वेद विद्यापीठमा ओपीडी निर्माणका लागि १० लाख र छात्रावास निर्माणका लागि २५ लाख रुपैयाँ विनियोजन गरी प्रक्रिया अघि बढिसकेको पनि उहाँले जानकारी दिनुभयो ।

छात्रवृत्ति वितरणका लागि पनि विश्वविद्यालय तयार भइसकेको उहाँको भनाइ छ । अखिल क्रान्तिकारीको मागबमोजिम १ सय शय्याको अस्पताल निर्माण भने विश्वविद्यालयको स्रोतसाधनबाट सम्भव नहुने कुलसचिव अधिकारीले बताउनुभयो ।

विश्वविद्यालयमा उपकुलपति र कुलसचिव नयाँ छन् । अब केही समयपछि शिक्षाध्यक्ष पद खाली हुँदै छ । सेवा आयोग, राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्र तथा अनुसन्धान केन्द्रका प्रमुख र शिक्षाध्यक्षमा कसलाई नियुक्त गर्ने भन्ने विषयलाई राजनीतिक मुद्दा बनाएर तालाबन्दी लम्ब्याइएको विश्वविद्यालयकै सभासदहरूले बताएका छन् । आफैं जिम्मेवार पदाधिकारीले ताला लगाउन उकास्ने तर समाधान गराउन नसक्ने समस्या देखिएको उनिहरुको भनाई छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस