दाङ । दाङको तुलसीपुरमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले शनिबार शेयर सदस्यलाई सदस्य शिक्षा अभिमुखीकरण तालिम प्रदान गरेको छ । तालिम सूचना तथा अध्ययन उपसमिति संयोजक जिवराज अधिकारीको अध्यक्षतामा तालिम संचालन भएको हो ।
तुलसीपुर–७ झुमरेस्थित हाम्रो पहुँच सेकेन्डरी स्कूलमा भएको तालिममा सहकारी सिद्धान्त, मूल्य र व्यवहार, लेखा प्रणाली, संस्थागत सुशासन तथा सदस्यहरुको भूमिका र दायित्वबारे प्रशिक्षण गरिएको हो ।
कार्यक्रममा संयोजक अधिकारीले सहकारीलाई पारदर्शी, जवाफदेही र सदस्यमैत्री बनाउन सदस्यहरुको बुझाइ र सहभागिता जरुरी हुनेमा जोड दिनुभयो । कार्यक्रममा सहकारीका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
तालिममा वचत तथा ऋण विभागका प्रमुख दुर्गाप्रसाद भण्डारी, तालिम तथा सूचना अधिकृत रेखा शर्माले सदस्यहरुलाई प्रशिक्षण गर्नुभएको हो । संस्थाले आगामी दिनमा पनि यस्ता अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।


















