
दाङ, ३० वैशाख । दाङको राप्ती गाउँपालिकामा फोहोरबाट टायल र इन्टरलक उत्पादन गर्न सुरु गरिएको छ । राप्ती गाउँपालिका–२ पुन्यपुरमा प्लास्टिकजन्य फोहोरबाट टायल, इन्टरलक लगायतका सामग्री उत्पादन सुरु गरिएको हो ।
प्लास्टिकजन्य फोहोरबाट मोहर बनाउने गाउँपालिकाको अभियान अन्तर्गत इको फ्यामिली प्रालि हेटौडासँगको सहकार्यमा फोहोरबाट टायल, इन्टरलक इँटालगायतका सामग्री उत्पादन गर्न थालिएको छ ।
गल्ने फोहोरबाट टायल, इन्टरलकलगायतका सामग्री उत्पादन गर्न थालिएको इको फ्यामिली प्रालिका सुपरभाइजर लालबहादुर चौधरीले बताउनुभयो । उहाँका अनुसार फोहोरका रूपमा फालिने चाउचाउ, बिस्कुट, भोला, गुट्कालगायतका प्लास्टिकबाट टायल, इन्टरलक, टाँक उत्पादन गर्ने योजना भएपनि पहिलो चरणमा टायल उत्पादन गरिएको बताउनुभयो ।
उत्पादन भएको टायल प्रतिपिस ३५ रुपैयाँका दरले बिक्री हुने र गाउँपालिकाभित्रका नागरिकलाई २० प्रतिशत छुटमा दिने व्यवस्था गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार पूर्णवातावरणमैत्री, घाम र पानीले वर्षौँसम्म केही गर्न नसक्ने र ३३ सय टन भारवहन क्षमता भएका घरदेखि सरकारी कार्यालय एवम् पार्कहरूमा प्रयोग गर्न सकिने छ ।
लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा फोहोरलाई मोहरमा बदल्ने गाउँपालिकाको उद्देश्यले टायल, इन्टरलकलगायतका सामग्री उत्पादन गर्न थालिएको राप्ती गाउँपालिका उपाध्यक्ष कमलापति चौधरीले बताउनुभयो ।