२०८२ असार ६ गते शुक्रवार

ठाँटी गाउँमा रेडियो स्रोता क्लब गठन

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१, ठाँटी गाउँमा रेडियो हाम्रो पहुँचको पहलमा ‘ठाँटी गाउँ रेडियो स्रोता क्लब’ गठन गरिएको छ ।

स्थानीय समुदायमा सञ्चारको पहुँच विस्तार गर्ने उद्देश्यले गठन गरिएको क्लबको अध्यक्षमा डम्बर अर्याल चयन हुनुभएको छ । सात सदस्यीय क्लबको सचिवमा देवी केसी रहनुभएको छ भने सदस्यहरूमा तुलबहादुर रास्कोटी, खिमबहादुर रास्कोटी, चोपबहादुर केसी, यसोदा केसी र दीपक पुन चयन हुनुभएको छ ।

स्रोता क्लबले गाउँमा घट्ने सामाजिक, आर्थिक, शैक्षिक तथा वातावरणीय घटनाहरूको समाचार संकलन तथा सूचना सम्प्रेषणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । क्लबका सदस्यहरूलाई रेडियो सामग्री निर्माण, रिपोर्टिङ र संप्रेषणमा सक्रिय भूमिका खेल्न रेडियो हाम्रो पहुँचका समाचार प्रमुख जीतसागर जी.एमले आग्रह गर्नुभएको छ ।

स्रोता क्लबको स्थापना रेडियो र समुदायबीचको दूरी घटाउने र जनताका आवाजलाई प्राथमिकतामा राखेर कार्यक्रम निर्माण गर्ने प्रक्रियामा महत्वपूर्ण कदम हुने उहाँले बताउनुभयो ।

‘क्लबमार्फत स्थानीय मुद्दाहरू उजागर हुनेछन् र समुदायमा चेतना अभिवृद्धि पनि हुनेछ ।’ उहाँले भन्नुभयो–‘ रेडियो हाम्रो पहुँचले विभिन्न स्थानमा यस्ता क्लबहरू विस्तार गर्दै आएको छ ।’

यसैबीच, क्लबका अध्यक्ष अर्याललाई तुलसीपुर–१ का अध्यक्ष हुमकान्त सापकोटाले निर्णय पुस्तिका हस्तान्तरण गर्नुभयो । उहाँले रेडियोको पहुँच र प्रभावलाई अझ सशक्त बनाउन क्लबले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त समेत गर्नुभएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस