२०८२ मङ्सिर २२ गते सोमवार

दाङमा सिकलसेल एनिमियाका बिरामी बढ्दै

दाङ । दाङमा सिकलसेल एनिमियाका बिरामी बढ्दै गएको पाइएको छ । परीक्षण र स्क्रिनिङको दायरा विस्तार हुँदै जाँदा बिरामीको पहिचान हुने क्रम बढ्दै गएको हो ।

दाङमा दुई वर्षको अवधिमा ७ सय ४६ जना सिकलसेल एनिमियाका बिरामी फेला परेका छन् । स्वास्थ्य कार्यालय दाङको तथ्याथ्याङक अनुसार २०७९ सालमा दुई हजार ८०२ जनाको स्क्रिनिङ परीक्षण गर्दा ३२८ र गतवर्ष सात पालिकामा दुई हजार ५८५ जनाको स्क्रिनिङ गर्दा ४१८ जनामा सिकलसेल एनिमियाा पुष्टि भएको छ । सिकलसेलको समस्या देखिएका चार जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्यका अनुसार घोराही र तुलसीपुर उपमहानगरपालिकासँगै लमही नगरपालिका, गढवा, राजपुर, राप्ती र दङ्गीशरण गाउँपालिकामा सिकलसेल बिरामी पहिचान भएको थियो ।

दाङमा सिकलसेल एनिमिया रोग पहिचान भएका करिब सात सय बिरामीमध्ये राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट तीन सय बढी बिरामीले नियमित उपचार सेवा लिँदै आएका छन्‌ । अन्य बिरामीले राप्ती प्रादेशिक अस्पतालसँगै जिल्लाबाहिरका अस्पतालबाट समेत उपचार लिने गरेका छन्‌ ।

राप्ती प्रादेशिक अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. रविन गौतमले अधिकांश थारू समुदायमा देखिएको सिकलसेल एनिमिया दाङमा एक जना गैरथारू समुदायका व्यक्तिमा पनि देखिएको बताउनुभयो ।

सिकलसेल एनिमियाका बिरामीको यकिन तथ्याङ्क नभए पनि परीक्षणका क्रममा नयाँ बिरामीको सङ्ख्या थपिने क्रम भइरहेको बताउनुभयो । दाङमा बिरामीको तथ्याङ्क पहिचान नहुँदा उपचारमा समस्या भइरहेको उहाँको भनाई छ । उहाँले यसका लागि स्थानीय सरकारले विशेष कार्यक्रम बनाएर लाग्न आवश्यक रहेको बताउनुभयो ।

कन्सल्टेन्ट फिजिसियन डा. गौतमले हेमोग्लोबिनोप्याथी सिकलसेल/ बिटाथालेसिमिया/हेमोफियिाका बारेमा जानकारी गराउँदै समुदायस्तरमा परीक्षणाको दायरा बढाउन नक्दा समुदायमा जोखिम कायमै रहेको बताउनुभयो ॥

स्वास्थ्य कार्यालय दाङका प्रमुख आचार्यले लुम्बिनी प्रदेशमा प्रमुख स्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेल एनिमिया रोगको समाधानका लागि स्थानीय र प्रदेश सरकारले साझा रणनीति बनाएर लाग्न आवश्यक रहेको बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस