२०८३ मङ्सिर ९ गते बुधवार

तुलसीपुरमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ


दाङ । दाङको तुलसीपुरमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ गरिएको छ । हिंसामुक्त समाज निर्माण, महिला तथा बालबालिकाको अधिकार संरक्षण र लैङ्गिक समानताको प्रवद्र्धन गर्ने उद्देश्यले अभियान सुरु गरिएको हो ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र शिवाकोटीले लैङ्गिक हिंसा अन्त्यका लागि सबै पक्ष जिम्मेवार र सचेत बन्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) होमबहादुर पराजुलीले हिंसामुक्त समाज निर्माणको अभियान घरपरिवारबाटै सुरु गर्नुपर्ने बताउनुभयो । उहाँले समाजमा हुने हिंसा र दुर्व्यवहार न्यूनीकरणका लागि परिवार, समुदाय र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।

महिला अधिकारकर्मी सुष्मा गिरीले लैङ्गिक हिंसाको अवस्था, यसले समाजमा पार्ने प्रभाव तथा हिंसा न्यूनीकरणका लागि अपनाउनुपर्ने उपायबारे विषयवस्तु प्रस्तुत गर्नुभएको थियो ।

यसैबीच, शान्ति सुरक्षा कायम गर्न तथा सामाजिक विकृति र हिंसा न्यूनीकरणमा सक्रिय भूमिका निर्वाह गरेका पाँचवटा टोल विकास संस्था र एक जना सामाजिक अभियन्तालाई सम्मानपत्रले सम्मान गरिएको छ ।

सम्मानित हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का सम्झना टोल विकास संस्था, नवसृजना टोल विकास संस्था, शान्ति टोल विकास संस्था र सङ्गीतनगर टोल विकास संस्था तथा वडा नम्बर ६ को शान्तिनगर टोल विकास संस्था रहेका छन् । यस्तै, सामाजिक अभियन्ता वीरेन्द्र विकलाई पनि सम्मान गरिएको छ ।

सक्रियता र सामाजिक योगदानको कदर गर्दै गरिएको सम्मानले समुदायस्तरमा शान्ति सुरक्षा, सामाजिक सद्भाव र हिंसाविरुद्धको अभियानमा थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस