२०८३ जेष्ठ ११ गते सोमवार

भारतीय गाडीको ठक्करबाट तुलसीपुरका एक जना गम्भिर घाइते


दाङ । दाङको तुलसीपुरमा भारतीय गाडीको ठक्करबाट एक जना गम्भिर घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका–६ स्थित घोराही रोडमा गएराति भारतीय गाडीले मोटरसाइकलाई ठक्कर दिँदा तुलसीपुर–६ बरुवागाउँ निवासी २४ वर्षीय बुद्धिराम चौधरी गम्भिर घाइते हुनुभएको हो । उहाँको ढाड, दुबै हातखुट्टा र कम्मरमा चोट लागेको छ ।

आइतबार साँझ करिब ८ बजेतिर विद्युत कार्यालयबाट ज्ञानज्योति स्कुलतर्फ जाँदै गरेको रा ५ प १५२७ नम्बरको मोटरसाइकललाई घोराहीबाट तुलसीपुरतर्फ आइरहेको एचपी ०१ एस २२९८ नम्बरको भारतीय फोर्स गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न दुबै सवारी साधन र फोर्स गाडीका चालक बेलुवा निवासी ३६ वर्षीय बीर बहादुर खत्रीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस