दाङ। तुलसीपुर उपमहानगरपालिकाले मेयर टीकाराम खड्काले पत्रकारलाई भिडियो खिच्न रोक लगाएको स्विकारेको छ ।
नगरप्रमुखको सचिवालयले सोमबार विज्ञप्ती जारी गरी पत्रकारले नगरप्रमुख खड्काको मर्यादालाई ख्याल नगरी भिडियो बनाएकाले भिडियो खिच्नमा रोक लगाएको स्विकार गरेको हो ।
मोबाइल खोसेको भनिएको घटनालाई उपमहानगरले स्वीकार गर्दै सार्वजनिक स्थानमा नगरप्रमुखमाथि प्रश्न सोध्नु अनुचित भएको दाबी गरेको छ ।
सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘कुनै पनि प्रसंगमा संवैधानिक रूपमा निर्वाचित जनप्रतिनिधिको सम्मान र मर्यादालाई ख्याल गर्नुपर्छ, आलोचना हुनसक्छ तर व्यक्तिगत स्वतन्त्रता तथा गोपनियतालाई ख्याल नगरी नगरप्रमुखको क्षेत्रभन्दा बाहिरको प्रश्न सोधिएकोमा आपत्ति छ ।’
सचिवालयले पत्रकारमाथिको दुर्व्यवहारको आरोपप्रति ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ–‘सरकारले सकारात्मक र नकारात्मक दुबै प्रकारका आलोचनाहरू स्विकार्न सक्ने क्षमता राख्दछ । पत्रकारिताले कुनै पनि विषयलाई वस्तुगत अध्ययन र विश्लेषण गरेर जानकारी दिनुपर्दछ ।’
सोमबार बिहान सिएनटी प्रेसका पत्रकार सागर सुवेदीले घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत संक्राम खोलाको पुलमाथिको सडकको अवस्थाबारे मेयर खड्कासँग प्रश्न सोध्दा मेयरले उहाँको मोबाइल खोसेर दुर्व्यवहार गरेको आरोपप्रति सचिवालयले ध्यानाकर्षण भएको जनाएको छ ।














