दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१८ हेमन्तपुरमा विपन्न नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्देश्यले अक्षयकोष स्थापनार्थ श्रीमद्भागवत जीवन विज्ञान महायज्ञ आजदेखि सुरु भएको छ ।
महायज्ञको तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा नगरप्रमुख खड्काले महायज्ञलाई सफल बनाउन सबै सरोकारवाला पक्षको सहयोग र सहभागिता आवश्यक रहेको बताउनुभयो ।
राजनीतिक दल, समाजसेवी तथा समाजका अगुवाहरूले आर्थिक सहयोग स्वेच्छाले गर्न सक्ने भए पनि सामाजिक उद्देश्य पूरा गर्न महायज्ञमा सहभागिता जनाउनु सबैको दायित्व भएको उहाँको भनाइ छ ।
विपन्न नागरिकको उपचारमा सहयोग पुर्याउने उद्देश्यले स्थापना गर्न लागिएको अक्षयकोषका लागि सबै दाताको सहयोग महत्वपूर्ण हुने उहाँले बताउनुभयो । साथै, नागरिकको हित र सामाजिक कल्याणका लागि सुरु गरिएका यस्ता अभियानलाई आगामी जनप्रतिनिधिले पनि निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा वडा नम्बर १८ का अध्यक्ष माधव वलीले आर्थिक अभावका कारण कुनै पनि नागरिक स्वास्थ्य उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले अक्षयकोष स्थापना गर्न लागिएको बताउनुभयो । उहाँले सडक कालोपत्रे गर्नुमात्रै विकास नभई नागरिकलाई सहज रूपमा शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउनु नै विकासको महत्वपूर्ण आधार भएको उल्लेख गर्नुभयो ।
वडाको पहलमा सञ्चालन गरिएको महायज्ञबाट रकम संकलन गरी अक्षयकोष स्थापना गरिने र त्यसबाट आर्थिक रूपमा विपन्न नागरिकलाई उपचारमा सहयोग पुर्याइने उहाँले बताउनुभयो ।
महायज्ञमा स्वर्णपदक विभूषित पण्डित अमृतशरण देवाचार्य प्रमुख कथावाचकका रूपमा रहनुहुनेछ । आइतबारदेखि सुरु भएको महायज्ञ मंसिर १५ गतेसम्म सञ्चालन हुनेछ ।
महायज्ञको उद्घाटन कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र शिवाकोटी, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत, जुरपनिया–मैनातारा खानेपानी संस्थाका अध्यक्ष शेषमणि कँवरलगायतले मन्तव्य व्यक्त गर्नुभएको हो । कार्यक्रमको सहजीकरण हेमा बेल्बासेले गर्नुभएको हो ।


























