
दाङ। दाङको तुलसीपुर उपमहानगरपालिकामा मंगलबारको ३२ औँ कार्यपालिका बैठक वडाअध्यक्षले बहिष्कार गरेका छन् । आजको कार्यपालिका बैठक कांग्रेसबाट निर्वाचित र माओवादीबाट निर्वाचित ९ जना वडाअध्यक्षले बहिष्कार गरेका हुन् ।
बैठक बिहान ७ बजेदेखि शुरु भएको हो । तर बैठकमा एमालेबाट निर्वाचित वडाअध्यक्षसमेत अनुपस्थित रहेका छन् । स्रोतका अनुसार एमालेबाट तीनसहित १२ जना वडाअध्यक्ष बैठकमा सहभागी भएका छैनन् ।
नगरप्रमुख टिकाराम खड्का एकलौटी ढंगले अघि बढ्न खोजेको, वडालाई प्राथमिकताको आधारमा भन्दा पनि निकटताको आधारमा बजेट छुट्याउने गरेको लगायतका कारण कार्यपालिका बैठक बहिष्कार गरेको तुलसीपुर–९ का अध्यक्ष तथा लेखा समितिका संयोजक घनश्याम ढकालले बताउनुभयो ।
गत वर्ष २०८१ चैत २२ गते बसेको ३१ औँ कार्यपालिका बैठकमा प्रस्तुत भएको एजेन्डामध्ये एजेन्डा नम्बर ११ मा शिक्षक दरबन्दी मिलानमा असहमति जनाएको तर नगरप्रमुखले बहुमतबाट अस्विकृत एजेन्डा कार्यान्वयनमा लगेकोले आजको ३२ औँ कार्यपालिका बैठक बहिष्कार गरिएको संयोजक ढकालले बताउनुभयो ।
बहुमतले अस्विकृत गरेको एजेन्डा खारेज नहुँदासम्म बैठकमा सहभागी नहुने अडानमा आफुहरु रहेको उहाँले बताउनुभयो । तर नगरप्रमुख खड्काले पेलेरै जान खाजेको वडाअध्यक्षले बताएका छन् । १२ जना वडाअध्यक्षको अनुपस्थित हुँदा पनि नगरप्रमुखले एकलौटी ढंगले बैठक संचालन गरेको अध्यक्ष ढकालले बताउनुभयो ।
अध्यक्ष ढकालले बजेड बाँडफाँड गर्दा विभेद गर्ने गरिएको तर समानुपातिक ढंगले बजेट बिनियोजन हुनुपर्ने आफुहरुको माग रहेकोे बताउनुभयो । माग सम्बोधनका लागि कांग्रेस र माओवादीबाट निर्वाचित वडाअध्यक्ष सोमबार नगरप्रमुख टिकाराम खड्कालाई ध्यानाकर्षणपत्र समेत बुझाएका थिए ।