२०८२ मङ्सिर २७ गते शनिवार

वातावरण दिवसमा हाम्रो पहुँचका विद्यार्थीद्वारा सरसफाई

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ झुमरेमा रहेको हाम्रो पहुँच माध्यमिक विद्यालयले विभिन्न कार्यक्रम गरी आज विश्व वातावरण दिवस मनाएको छ ।

हाम्रो पहुँच बहुउद्देशीय सहकारी संस्थाद्वारा सञ्चालित हाम्रो पहुँच माध्यमिक विद्यालयका विद्यार्थीहरूले विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस मनाएका हुन् ।

विद्यार्थीहरूले विद्यालयको प्राङ्गणमा लिची,बेलौती,आँप लगायतका विभिन्न बिरुवाहरू रोपेर दिवस मनाएका छन् ।

साथै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ झुमरेमा रहेको आदर्श टोल विकास संस्थामा विद्यार्थी टोल विकास संस्थाका प्रतिनिधिहरूको सहभागितामा सरसफाई कार्यक्रम गरिएको छ ।

विद्यार्थीहरूले विद्यालयबाट र्‍याली निकालेका थिए। र्‍यालीमा वातावरण संरक्षण गरौं, प्लास्टिक जन्य वस्तुको विस्थापन गरौं लेखेका प्लेकार्डहरू बोकेर विद्यार्थीहरू र्यालीमा निस्केका थिए ।

सँगसँगै तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्धन शाखासँग समन्वय गरेर डेङ्गीका लक्षण, डेङ्गी रोकथामका उपाय लगायतका विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

हाम्रो पहुँच माध्यमिक विद्यालयका प्रधानाध्यापक डीआर भण्डारीको अध्यक्षतामा कार्यक्रम भएको हो । सो अवसरमा हाम्रो पहुँच बहुउद्देश्य सहकारी संस्थाका सल्लाहकार तथा विद्यालय परियोजनाका संयोजक भरत भण्डारीले हाम्रो पहुँच विद्यालयका विद्यार्थीहरूले समाजिक उत्तरदायित्व बहन गरेको उहाँले बताउनुभयो।

जलवायु परिवर्तनका कारण वातावरणमा प्रत्यक्ष असर पर्ने गरेको हुँदा विद्यार्थीहरूले गरेको यो कार्य प्रशंसनीय रहेको उहाँले बताउनुभयो। विद्यालयले हरेक वर्ष विभिन्न कार्यक्रमहरु गरी विश्व वातावरण दिवस मनाउँदै आएको उहाँको भनाइ छ।

यस्तै हाम्रो पहुँच बहुउद्देश्य सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले जलवायु परिवर्तनका कारणले विभिन्न असरहरु देखिने हुनाले विद्यार्थीहरू सचेतना कार्यक्रमहरू फैलाउनु सकारात्मक विषय रहेको बताउनुभयो ।

सचेतनामूलक कार्यक्रमले आउने पिढीहरूलाई नीति कार्यक्रमहरू बनाउदा वातावरण मैत्री नीतिहरू बनाउन र मानवमैत्री नीतिहरु बनाउन सहज हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा आदर्श टोल विकास संस्थाका अध्यक्ष बामदेव भण्डारी सचिव भोजराज न्यौपाने लगायतकाले आउने दिनहरूमा टोल विकास संस्थाले पनि यस्ता सरसफाईका कार्यक्रमहरु गर्न प्रेरित हुने बताउनुभएको हो । कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक शिव पुनले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस