२०८२ फाल्गुन २९ गते शुक्रवार

आगामी आर्थिक वर्षको बजेटका लागि तुलसीपुरमा सरोकारवालाहरुसँग राय सुझाव संकलन

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम तथा बजेट कार्यक्रमका लागि सरोकारवालासँग राय, सुझाव संकलन गरेको छ । आज बुधबार एक कार्यक्रमको आयोजना गरी सरोकारवालासँग राय, सुझाव संकलन गरेको हो ।

कार्यक्रममा सहभागिहरूले पूर्वाधार विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । सडक, पुल, ढल निकास तथा खानेपानी जस्ता आधारभूत पूर्वाधार विस्तारमा ध्यान दिन सुझाव दिएका हुन् ।

सो अवसरमा वातावरणविद् डिल्लीबहादुर रावतले रासायनिक मलको प्रयोगलाई निरुत्साहित गर्दै अर्गानिक मलको प्रयोगमा नागरिकलाई प्रोत्साहित गर्न सुझाव दिनुभयो । साथै सरकारले वातावरण प्रदूषण न्यूनीकरणका लागि छुट्याएको बजेटको प्रभावकारी उपयोगमा पालिकाले ध्यान दिनुपर्ने बताउनुभयो ।

बहिरा संघ दाङका निर्देशक अजयदिप शर्माले उपमहानगरलाई अपाङ्गमैत्री बनाउन कार्यविधि तयार गर्न आग्रह गर्नुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिहरूलाई आर्थिक रूपमा सबल बनाउन विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । अपाङ्ग सेवा संघ दाङका अध्यक्ष देवा डागीले समावेशी बजेटको माग गर्नुभयो ।

स्थानिय हस्त बहादुर केसीले मुख्य बजार बसपार्कस्थित मासु बजारको फोहोर व्यवस्थापन र सार्वजनिक शौचालयको समस्या समाधानमा नगरपालिकाको ध्यानाकर्षण गराउनुभयो ।

सहभागिहरूले सामुदायिक विद्यालयहरूको स्तरोन्नति, स्थानीय तहमा स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्र्न, युवा तथा महिला लक्षित कार्यक्रम सञ्चालन गर्र्न र कृषि क्षेत्रलाई प्राथमिकता दिँदै स्थानीय उत्पादनको बजारीकरण गर्नुपर्नेमा जोड दिएका हुन् ।

नगर प्रमुख टिकाराम खड्काले प्राप्त सुझावका आधारमा नीति तथा बजेट तर्जुमा गरिने प्रतिबद्धता जनाउनुभयो । उहाँले वडाहरूलाई आत्मनिर्भर बनाउन बजेट विनियोजन गरिने र वडा तथा नगरस्तरीय योजनालाई प्राथमिकता दिने जानकारी दिनुभयो । साथै असार १ गतेसम्म थप सुझाव दिन नगरवासीलाई आग्रह गर्नुभयो ।

नगर प्रमुख खड्काले शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रलाई प्राथमिकता दिइने उल्लेख गर्नुभयो । इलाइब्रेरी स्थापना भइसकेकाले यसलाई अझ प्रभावकारी बनाउने योजना रहेको पनि जानकारी दिनुभयो । यसले तुलसीपुरमा आउने सर्जक, साहित्यकारहरूलाई पनि सहज हुने उहाँको भनाइ छ ।

नगर उपप्रमुख स्यानी चौधरीले नागरिकका राय, सुझावलाई प्राथमिकता दिएर नीति तथा बजेट निर्माण प्रक्रिया अघि बढाइने बताउनुभयो ।

नगर प्रमुख टिकाराम खड्काको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत केशवराज पार्धे, विभिन्न वडाका जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, स्थानीय नागरिक र समाजसेवीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण कुन्ता भण्डारीले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस