दाङ, २९ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिकामा मेयर टिकाराम खड्काको कार्यशैलीप्रति ९ जना वडा अध्यक्षहरूले आपत्ति जनाएका छन् ।
कांग्रेस र माओवादीबाट निर्वाचित ९ जना वडा अध्यक्षले मेयर खड्काले आफूलाई व्यवास्ता गरी बहुमतको दम्भ देखाएर एकलौटी ढंगले अघि बढेको गुनासो गरेका हुन् ।
मेयर खड्काले अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको वडा उनिहरुको गुनासो छ ।
मेयर खड्काले बिना सहमति बहुमतको दम्भ देखाएर आफू खुसी बजेटको सीमा निर्धारण गरेको, वडामा ८० लाख मात्रै बजेट पठाएर ढिक्का बजेट आफूले राखेको, चालु आर्थिक वर्षमा आफू खुसी बजेट कटौती गरेर आफू निकटका वडामा बजेट दिएको कांग्रेसबाट निर्वाचित वडा नम्बर ९ का अध्यक्ष एवं लेखा समितिका संयोजक घनश्याम ढकालले बताउनुभयो
मेयर खड्काले आगामी आर्थिक वर्ष २०८२/२०८३ को बजेट निर्माणमा विषयगत समितिका संयोजक सहभागी नगराएकोमा संयोजक ढकालले आपत्ति प्रकट गर्नुभएको छ ।
सहकारी समिति, प्राकृतिक स्रोत साधन समिति, लेखा समितिको संयोजक बिना नै आगामी आर्थिक वर्षको बजेट निर्माण तथा सीमा निर्धारण गरिएको र यसमा सहभागी नगराउनुको कारण नगर प्रमुखले स्पष्ट पार्नुपर्ने उहाँले बताउनुभयो ।
यस्तै माओवादीबाट निर्वाचित तुलसीपुर १२ का अध्यक्ष एवं सहकारी समितिका संयोजक खुशिराम चौधरीले बजेट निर्माण गर्दा बहुमत नभई सर्वसम्मत रुपमा हुनुपर्ने आफूहरूको मागमा नगरप्रमुखले वेवास्ता गरेको बताउनुभयो ।
कांग्रेस र माओवादीबाट निर्वाचित ९ जना वडाअध्यक्षले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा नगर प्रमुख खड्काले वडा अध्यक्षमाथि लगाएको भ्रष्टाचारको आरोप लगाएकोप्रति आपत्ति प्रकट गरिएको छ । नगर प्रमुख जस्तो जिम्मेवार व्यक्तिले गैर जिम्मेवार अभिव्यक्ति दिएको भन्दै आपत्ति प्रकट गरिएको हो ।
यस्तै कार्यपालिकाको निर्णयमा पनि एजेन्डा बाहिरका विषय प्रवेश गरी बिना सूचना बिना जानकारी निर्णय गरिएको भन्दै वडा अध्यक्षहरुले असहमति जनाएका छन् ।
यस्तै कार्यपालिकामा निर्णय नगरी मनोमानी ढंगले सफ्टवेयर खरिद गरिएको, शिक्षक दरबन्दी मिलानमा विषयान्तर शिक्षकलाई राजनीतिक आडमा मनोमानी सरुवा गरिएको, कर संकलन र लगानी असुलीमा ध्यान नदिएको, महालेखा परीक्षकको प्रतिवेदनले असुल गर्नु भनिएको तर असुल नगरिएको, एम्बुलेन्सको व्यवस्थापन गर्नुको गर्नुको साठो लावारिस गराएको, विधि र मापदण्ड विपरीत कर्मचारीलाई मनपरी सरुवा गरेकोमा वडाअध्यक्षले आपत्ति जनाएका हुन् ।
यसैगरी चालु आर्थिक वर्षमा कार्यपालिकाबाट निर्णय भएका विभिन्न योजनामा छोटो समयमा सीमा तोकेर नगरप्रमुख आफैले मनोमानी विनियोजन गरेको र लिखित रुपमा सुझाव उपलब्ध गराउँदा सम्बोधनको साटो ठाडै अस्वीकार गरेको तुलसीपुर–५ का अध्यक्ष बिरेन्द्र शाहले बताउनुभयो ।
कार्यपालिका तथा नगरसभाबाट पारित भएका योजना नगर प्रमुखले आफू खुसी काटेर अन्यत्र वितरण गरेको उहाँको भनाई छ ।
यस्तै भुक्तानी दिने रकम नहुँदा पनि अनावश्यक रुपमा हिउदे अधिवेशनमा मनोमानी र विभेदपूर्ण ढंगले बजेट विनियोजन गरेको माओवादीबाट निर्वाचित वडा नम्बर ४ का अध्यक्ष तुलसी थापाले बताउनुभयो ।
नौ जना वडाअध्यक्षले संयुक्त रुपमा समानुपातिक ढंगले विकास गर्नुपर्ने आफूहरुको मागमा नगर प्रमुखले व्यवास्ता गरेको पनि उल्लेख गरिएको छ ।









