२०८२ मङ्सिर ३ गते बुधवार

दाङका ३७ प्रतिशत बढी घरधुरीमा पाइप प्रणालीमा खानेपानी पहुँच छैन


दाङ। दाङका दश वटा पालिकाका ३७ प्रतिशत बढी घरधुरीले पाइप प्रणाली बाहेकको कुवा, जरुवा तथा मुलको पानी प्रयोग गर्ने गरेका छन्। २०७८ को जनगणना अनुसार जिल्लामा १ लाख ६२ हजार २ सय ६६ घरधुरी संख्या रहेकोमा हालसम्म १ लाख १ हजार ८ घरधुरी अर्थात् ६२ दशमलव २५ प्रतिशतमा मात्र पाइप प्रणालीमार्फत खानेपानी विस्तार भएको खानेपानी तथा सरसफाइ कार्यालय दाङका कार्यालय प्रमुख तिलक न्यौपानेले जानकारी दिनुभयो।

हिजो (बिहीबार) घोराहीमा आयोजित २६औँ राष्ट्रिय सरसफाइ सप्ताहको अवसरमा आयोजित जिल्लास्थित सञ्चारकर्मी र खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका पदाधिकारीहरूसँग राखिएको अन्तरक्रिया कार्यक्रममा जिल्लाका ६१ हजार २ सय ५८ घरधुरी अर्थात् ३७ दशमलव ७५ प्रतिशत घरधुरीमा खानेपानीको पाइप प्रणाली विस्तार हुन नसकेको प्रमुख न्यौपानेले बताउनुभयो।

नेपालको संविधान २०७२ को धारा ३५ को उपधारा ४ बमोजिम सुरक्षित खानेपानी र सरसफाइको पहुँचलाई मौलिक हकका रूपमा लिए पनि जिल्लाका ३७ प्रतिशत बढी घरधुरी सुरक्षित खानेपानी तथा सरसफाइको पहुँचमा नरहेको पाइएको हो। असुरक्षित खानेपानीका कारण पानीजन्य सरूवा राेग तथा अन्य समस्याले नागरिकाे स्वास्थ्यमा समस्या देखा पर्ने गरेका छन् ।

कार्यालय प्रमुख न्यौपानेका अनुसार चालु वर्षमा जिल्लाका विभिन्न स्थानमा १५ वटा खानेपानी आयोजना सञ्चालन भइसकेका छन्। यस्तै १० वटा खानेपानी आयोजनामा पनि पानी सञ्चालनको तयारी अन्तिम अवस्थामा रहेको छ। अहिले निर्माणको काम तीव्र गतिमा भइरहेको र आर्थिक वर्षको अन्त्यसम्ममा थप १४ वटा खानेपानी आयोजना हस्तान्तरण हुन सक्ने कार्यालयले जनाएको छ।

सबैभन्दा धेरै पाइप प्रणाली घोराहीमा

जिल्लामा पाइप प्रणालीमार्फत सबैभन्दा धेरै खानेपानी वितरण घोराही उपमहानगरपालिका रहेको छ। घोराहीमा ३० हजार ९ सय ३४ घरधुरीमा पाइप प्रणालीमार्फत खानेपानी वितरण हुँदै आएको छ। यस्तै तुलसीपुर उपमहानगरपालिका २९ हजार १ सय ५३, लमही नगरपालिकामा ८ हजार २ सय ३६, राप्ती गाउँपालिकामा ७ हजार १ सय ४८ रहेको छ। यस्तै गढवा गाउँपालिकामा ६ हजार ७ सय ८३, शान्तिनगर गाउँपालिकामा ६ हजार २ सय १८, बबई गाउँपालिकामा ५ हजार ११, दंगीशरण गाउँपालिकामा ४ हजार ३ सय ३७, बंगलाचुली गाउँपालिकामा १ हजार ८ सय १९ र राजपुर गाउँपालिकामा १ हजार ३ सय ७८ घरधुरीमा पाइपलाइन विस्तार भएको छ।

खानेपानी तथा सरसफाइ कार्यालय दाङका प्रमुख तिलक न्यौपानेको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यता एवम् प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको विशिष्ट आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि शर्माले सुरक्षित खानेपानी पिउन पाउनु हरेक नागरिकको मौलिक अधिकार भएको हुँदा राज्य गम्भीर बन्नुपर्ने बताउनुभयो।

बनजंगल विनाश, अव्यवस्थित शहरीकरण, प्राकृतिक स्रोतसाधनको दोहन लगाएतका कारण पानीका मुहानहरू दिनप्रतिदिन सुक्न थालेकाले भविष्यमा आउने खानेपानीको संकट समाधानका लागि मुहान संरक्षण नै पहिलो प्राथमिकता रहेको बताउनुभयो।

कार्यक्रममा राष्ट्रिय साना शहरी खानेपानी महासंघका अध्यक्ष खेमराज वलीले सरकारले उपभोक्ता समितिलाई नियन्त्रण गर्न खोजेको कदमको विरोध गर्नुभयो। ८२ प्रतिशत उपभोक्ताको लगानीमा रहेका आयोजनामा १८ प्रतिशत उपस्थिति रहेको राज्यले जनताको अधिकार खोस्न लागेको भन्दै कडा प्रतिवाद गर्ने चेतावनी दिनुभयो। सरकार यो कदमबाट पछि नहटे काठमाडौं केन्द्रित आन्दोलनका लागि तयार रहनसमेत आह्वान गर्नुभयो।

यस्तै खानेपानी उपभोक्ता महासंघ लमहीका अध्यक्ष पदम योगी, राप्तीका अध्यक्ष झुम्मन मियाँ, तुलसीपुरका अध्यक्ष टेकबहादुर केसी, गढवाका अध्यक्ष कृष्णराज पाण्डे, दंगीशरणका अध्यक्ष खड्गबीर चौधरी, बंगलाचुलीका केशर जिसी, राजपुरका लिलाराम बिक, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी लगायतले पर्याप्त खानेपानीको पहुँचका लागि पानीको मुहान संरक्षण नै पहिलो प्राथमिकता रहेकोमा जोड दिएका छन्। हरेक नागरिकले मुहानदेखि मुखसम्म शुद्ध पानी पिउन पाउनुपर्ने भए पनि वितरण प्रणाली प्रभावकारी नहुँदा विभिन्न समस्या भोग्नुपरेको उनीहरूले गुनासो गरेका थिए।

हरेक वर्ष जुन ५ बाट सुरु भई एक सातासम्म राष्ट्रिय सरसफाइ दिवस सञ्चालन हुने गर्दछ। २६औँ राष्ट्रिय सरसफाइ दिवस २०८२ को नारा सुरक्षित सरसफाइमा समावेशिता, हाम्रो प्रतिबद्धता रहेको छ। कार्यक्रमको सहजीकरण खानेपानी तथा सरसफाइ कार्यालयका गजेन्द्र बहकरीले गर्नुभएको हो।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस