
दाङ । मुक्त कमलरीहरुको अधिकार सुनिश्चितता र पुनःस्थापनाका लागि सशक्तिकरण परियोजना सुरु गरिएको छ । द एशिया फाउन्डेसन (लोटस रेजिलियन्स फण्ड) को आर्थिक सहयोगमा मुक्त कमलरी विकास मञ्चले उक्त परियोजना सञ्चालनमा ल्याएको हो ।
आज घोराहीमा आयोजित एक कार्यक्रमको आयोजना गरी परियोजनाको औपचारिक सुरुवातसँगै १२औं कमलरी मुक्ति दिवससमेत मनाइएको छ ।
मञ्चका केन्द्रीय अध्यक्ष हिरामोति चौधरीले परियोजनाबाट दाङ, बाँके र बर्दियाका १ हजार ३११ जना मुक्त कमलरीहरू प्रत्यक्ष लाभान्वित हुने बताउनुभयो । लाभान्वित हुनेमध्ये दाङको लमही नगरपालिकाका ४२६, गढवा गाउँपालिकाका ३०३, बाँकेको कोहलपुर नगरपालिकाका ५२, बर्दियाको बारबर्दिया नगरपालिकाका १७६ र राप्ती सोनारी गाउँपालिकाका ३२६ जना मुक्त कमलरी रहेका छन् ।
चौधरीले परियोजनाले अझै परिचयपत्र नपाएका कमलरीहरूलाई पहिचान गरी वितरणमा सहयोग गर्ने बताउनुभयो । उहाँका अनुसार हाल लुम्बिनी प्रदेशमा ३ हजार ७३५ जनाले परिचयपत्र पाइसकेका छन् । दाङमा १ हजार ९४९ जनाले परिचयपत्र पाएका भए पनि ४२६ जनाको परिचयपत्र हस्ताक्षर नहुनाले वितरण हुन सकेको छैन । बाँकेमा ३३४ र बर्दियामा १ हजार ४५२ जनाले परिचयपत्र पाएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगिले परिचयपत्र वितरण तथा सशक्तिकरणका लागि पालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो। । उहाँले कमलरीहरुको आवश्यकता के छ त्यो कुराको जानकारी पालिकामा गराएमा बजेट छुट्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
संस्थाका संस्थापक अध्यक्ष मञ्जिता चौधरीले मुक्तिपछि धेरै कमलरीको जीवनशैलीमा सकारात्मक परिवर्तन आए पनि परिचयपत्र नपाएकाले उनीहरू छात्रवृत्तिबाट वञ्चित हुनुपरेको बताउनुभयो ।
केन्द्रका पूर्व अध्यक्ष सुनिता चौधरीले विगत १२ वर्षदेखि मुक्त कमलरी दिवस मनाउँदै आएको बताउनुभयो । उहाँले पहिलेको तुलनामा पछिल्लो समय मुक्त कमलहरीहरुको जीवन यापनमा धेरै परिवर्तन आएता पनि अझै पनि विभिन्न चुनौतीहरूको सामना गर्नुपरेको बताउनुभयो ।
मुक्त कमलहरी विकास मञ्चका केन्द्रीय अध्यक्ष चौधरीको अध्यक्षता तथा लमही नगरपालिकाका नगर उपप्रमुख योगिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागी बर्दियाका अध्यक्ष जगनी चौधरी, बाँकेका उपाध्यक्ष मनकुमारी चौधरीलगायतले अझै पनि मुक्त कमलहरीहरू विभिन्न चुनौतिको सामना गर्नुपरेको बताएका हुन् । अब सबै मुक्त कमलरीहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम संयोजक सुबोध कुमार चौधरीले परियोजना जुन १ देखि अक्टोबर ३१, २०२५ सम्म सञ्चालन हुने जानकारी दिनुभयो । परियोजना लुम्बिनी प्रदेशको पाँच ओटा जिल्लामा हुने छ । परियोजनामार्फत मुक्त कमलहरीहरूलाई परिचयपत्र वितरणमा सहयोग, नेतृत्व विकास, वकालत तालिम, सामुदायिक अन्तरक्रिया, स्थानीय तहका जनप्रतिनिधिसँग सम्वाद, प्रदेशस्तरीय सम्वाद जस्ता गतिविधि गर्न सहयोग गर्ने छ ।
२०७० सालमा सरकारले कमलरी प्रथा अन्त्यको घोषणा गरे पनि अझै पनि धेरै मुक्त कमलहरीहरूले परिचयपत्र प्राप्त गर्न सकेका छैनन् । जसका कारण उनीहरू शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता अवसरबाट वञ्चित भएका छन । समस्याा परेका कमलरीहरुलाई यो परिपोजनाले सहयोग गर्ने संयोजक चौधरीले बताउनुभयो । परियोजनाका लागि द एसिया फाउन्डेसनले १० लाख ४० हजार २५० रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
मुक्त कमलहरी विकास मञ्चका केन्द्रीय उपाध्यक्ष निर्मला चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका ज्ञानु थापाले गर्नुभएको हो ।