
दाङ । असार १० भित्र स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट ल्याइसक्नुपर्ने प्रावधान रहे पनि लुम्बिनी प्रदेशका ५ स्थानीय तहले भने नियमित समयभित्र बजेट ल्याउन सकेनन् ।
आन्तरिक विवाद र तयारी अपुग भएको भन्दै ती स्थानीय तहले बजेट ल्याउन नसकेको जनाएका छन् । लुम्बिनी प्रदेशमा १०९ स्थानीय तहमध्ये १०४ वटाले नियमित समयभित्रै बजेट ल्याएको जिल्ला समन्वय कार्यालयहरूले जनाएका छन् ।
रुपन्देहीका तीन र कपिलवस्तुका दुई स्थानीय तहले बजेट ल्याउन नसकेका हुन् । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, कोटहीमाई गाउँपालिकाले अहिलेसम्म आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउन सकेको छैन ।
कपिलवस्तुको शुद्धोदन र मायादेवी गाउँपालिकाले पनि नियमित समयभित्र बजेट सार्वजनिक गर्न सकेन । बजेट समयमा नल्याउने स्थानीय तहलाई समीकरण अनुदान शीर्षकको रकम कटौती गर्ने व्यवस्था छ ।
अन्तर सरकारी वित्त व्यवस्थापन ऐनमा सबै स्थानीय तहले असार १० गतेभित्र गाउँ र नगर सभामा बजेट पेस गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने व्यवस्था छ ।