२०८२ मङ्सिर ३ गते बुधवार

तुलसीपुर– १३ मा वडास्तरीय विपद् व्यवस्थापन बैठक

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ मा वडास्तरीय विपद् व्यवस्थापन समितिको बैठक बसेकोे छ । वडा अध्यक्ष मोहनलाल पौडेलको अध्यक्षतामा बैठक बसेको हो ।

बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका विविध विषयमा छलफल भएको छ । वडा भित्रका जोखिममा रहेका बस्तीहरुलाई सुरक्षित ठाँउमा स्थानान्तरण गर्न र विपद् आइपरेमा तत्काल उद्धार तथा राहत वितरणको तयारीको बारेमा योजना बनाइएको वडा अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

तुलसीपुर उपमहानगरपालिका– १३ मा विशेष गरी बखरिया, ढकनाको ठुटी पिपल, सिमलखुटीको महतराटोल, मजघटुवाको रिहारेचौरलगायतका करिब २०० घरधुरी उच्च जोखिममा छन् । जोखिममा रहेका क्षेत्रमा विपद् पूर्व सूचना प्रणाली प्रभावकारी रूपमा लागू गर्ने बताइएको छ । आवश्यक पर्दा वडाकै तर्फबाट तत्काल राहत वितरण गरिने अध्यक्ष पौडेलले बताउनुभयो । उहाँले उद्धारका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो ।

बैठकमा उपस्थित सरोकारवालाहरुले विपद् व्यवस्थापनमा सामूहिक सहकार्य र पूर्वतयारीको आवश्यकतामा जोड दिएका थिए । साथै विपद् जोखिम न्यूनीकरणमा सबै एकजुट हुनसपर्ने बताएका थिए ।

बैठकमा पूर्व जनप्रतिनिधिहरू, स्थानीय नागरिक, राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मी, अम्बापुर बेस क्याम्पका प्रतिनिधि, अस्थायी प्रहरी पोष्ट दमारगाउँका प्रतिनिधि, रेडक्रस सोसाइटी दाङका उपसभापति हरिहर पौडेल, इलाका प्रहरी कार्यालय फुलबारीका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस