दाङ । एएफसी महिला एशियन कप छनोटमा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ ।
उज्वेकिस्तानको तास्केन्तमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ८–० गोलले हरायो । नेपालकी कप्तान सावित्रा भण्डारी ’साम्बा’ ले ह्याट्रिक गर्नुभयो । यस्तै गीता रानाले २ तथा निशा थोकर, रेखा पौडेल र पूजा रानाले १/१ गोल गर्नुभयोे ।
यो जीतसँगै नेपाल २ खेलमा ६ अङ्कसहित समूह ’एफ’ को शीर्ष स्थानमा उक्लिएकोे छ । नेपालले पहिलो खेलमा लाओसलाई ९–० गोलले हराएको थियो । अब नेपालले समूह चरणको अन्तिम खेलमा शनिवार आयोजक उज्वेकिस्तानसँग खेल्नेछ ।
महिला एशियन कप छनोटमा ३४ वटा टोलीलाई आठ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेताले आउँदो वर्ष अस्ट्रेलियामा हुने एशियन कप खेल्नेछन् ।
१२ वटा टोली सहभागी हुने प्रतियोगितामा आयोजक अस्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापान छनोट भइसकेका छन् ।










