दाङ, २२ असार । हरिशयनी एकादशीको अवसरमा तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल परिसरमा तुलसीको बिरुवा रोपिएको छ । अक्सिजन धेरै दिने र औषधीय गुणले भरिपूर्ण ‘तुलसी’ को महत्वलाई मध्यनजर गर्दै समाजसेवी युवाहरू १३ जनाको सक्रियतामा तुलसीको बिरुवा रोपिएको हो ।
तुलसीपुर–७ जितपुर निवासी उपेन्द्र पौडेलसहित १३ जना युवाहरूको समूहले सामाजिक उत्तरदायित्व बहन गर्दै तुलसी रोपेर वातावरणीय सन्देश प्रवाह गरेको छ ।
समूहमा सहभागी अन्य समाजसेवीहरूमा अनिल विष्ट, अशिताभ लामिछाने, मेघराज केसी, बुद्धिराज चपागाई, ओपेन्द दाहाल, विकास सेन ठकुरी, भेषराज अर्याल, एकराज भट्टराई, बागबिर रोकाया, सन्दिप गौतम र ठाकुर प्रसाद भुषाल रहेका छन् ।
कार्यक्रममा समाजसेवी उपेन्द्र पौडेलले तुलसीले केवल धार्मिक र सांस्कृतिक मूल्य मात्र नभइ वातावरण संरक्षणमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । ‘तुलसी अक्सिजन उत्सर्जन गर्ने प्रमुख बिरुवामध्ये एक हो, यसले वायुमण्डललाई स्वच्छ बनाउन सहयोग गर्छ’ पौडेलले भन्नुभयो–‘हामीले अस्पताल अगाडि रोपेर यसको सन्देश अझ प्रभावकारी बनाउन खोजेका हौं ।’
सहभागी घोराही–१५ निवासी रविन ज्ञवालीले हरेक पर्व वा विशेष दिनमा सकारात्मक काममार्फत समाजलाई जागरुक बनाउन आफूहरू लागिपरेको बताउनुभयो । ‘सामाजिक परिवर्तनका लागि साना साना कामहरू महत्वपूर्ण हुन्छन् ।’ उहाँले भन्नुभयो–‘यस्ता कार्यले जनमानसमा चेतना फैलाउने विश्वास गरेका छौं ।’
रोपिएको तुलसीको बिरुवालाई नियमित हेरचाह अस्पतालले गर्नेछ । अस्पताल परिसरमा तुलसी रोपिएपछि अस्पतालका कर्मचारी तथा सेवाग्राहीहरू पनि खुशी व्यक्त गरेका छन् । स्थानीय स्तरमै सामाजिक जागरणको सन्देश बोकेको यो अभियानले अन्य युवाहरूलाई पनि प्रेरणा दिने अपेक्षा गरिएको छ ।















