२०८३ भाद्र ८ गते सोमवार

रुकुम पश्चिममा गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु


दाङ । रुकुम पश्चिममा आइतबार बिहान गाडीको ठक्करबाट आमा छोरीको मृत्यु भएको छ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका –४ बलेटक्चाकाकी २६ वर्षीया स्वस्तिका पौडेल र उहाकी २ वर्षीया छोरी शान्दिका ज्ञावलीको उपचारका क्रममा रुकुम पश्चिम जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको प्रहरी निरीक्षक झबिन्द्र परियारले जानकारी दिनुभयो ।

आइतबार बिहान साढे ८ बजेतिर सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी सडकखण्डमा क.प्र.०२००१ ख १०७० नम्बरको यात्रुबाहक गाडीमा आमा–छोरी सवार रहेका थिए । आमा–छोरी रुकुम पश्चिमको सदरमुकाम मुसिकोटबाट सुर्खेत हुँदै गुल्मी जाँदै थिए ।

त्यही बीचमा छोरी शान्दिकाले शौच गर्ने बताएपछि आमा स्वस्तिकाले गाडी रोक्न भन्नु भएको हो । त्यसपछि सिम्लीबाट चौरजहारी तर्फ जाँदै गरेको भे. १ ज . १४८२ नम्बरको गाडीले आमा–छोरीलाई ठक्कर दिएको थियो ।

घटनाबारे खबर पाउनासाथ प्रहरी चौकी सिम्लीबाट प्रहरी नायब निरीक्षक धर्मबहादुर खड्काको कमाण्डमा ४ जनाको टोली घटनास्थल पुगेर गम्भीर अवस्थाका आमा छोरीलाई उद्धार गरी सानीभेरी गाउँपालिकाको एम्बुलेन्सबाट जिल्ला अस्पताल सल्ले पुर्‍याएका हुन् ।

सल्ले अस्पतालमा चेकजाँच गरेपछि साढे ९ बजेतिर आमा–छोरीलाई चिकित्सकले मृत घोषणा गरेका हुन् । ठक्कर दिने गाडीका चालक सानीभेरी गाउँपालिका– ३ चौखेका २२ वर्षीय अम्मर विक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

जिल्ला प्रहरी प्रवक्ता परियारका अनुसार मृतक स्वस्तिका पौडेल रुकुम पश्चिमको सदुरमुकाम मुसिकोट खलंगास्थित सनराइज बैंकमा कार्यरत श्रीमान घनश्याम ज्ञावलीलाई भेट्न छोरीसहित त्यहाँ पुग्नु भएको थियो । बिहान गुल्मीस्थित घर जानका लागि हिडेका आमा छोरी घर पुग्न नपाइ बाटोमै मृत्यु भएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस