२०८३ भाद्र ७ गते आइतवार

रोल्पा पहिरोमा परी चार दिनमा १९ जनाको मृत्यु


दाङ। लगातारको वर्षापछि खसेको पहिरो र चट्याङका कारण रोल्पामा पछिल्लो चार दिनमा १९ जनाको मृत्यु भएको छ । वर्षा नरोकिएपछि जिल्लाका ग्रामीण बस्ती तथा सडकहरू पहिरोको उच्च जोखिममा रहेका छन्‌ ।

लुङ्ग्री गाउँपालिका–५, धैरेनीमा शुक्रबार राति पहिरोले घर पुरिँदा ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको छ । रातभर परेको वर्षाका कारण शनिबार बिहान करिब ३ बजे घरमाथिबाट पहिरो खसेर घर पुरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

पहिरोले घर पुरिएपछि प्रहरी चौकी किलाचौरमा खबर पुगेको थियो । प्रहरी र स्थानीय बासिन्दा घटनास्थलमा पुगेर उद्धार गर्दा गुरुङको टाउकोको भाग मात्रै बाहिर देखिएको थियो । उद्धार प्रयासपछि उहाँलाई मृत अवस्थामा निकालिएको प्रहरीले जनाएको छ ।

त्यसै गरी शनिबार बिहान सुनीलस्मृति गाउँपालिका–६, आमडाँडामा पहिरोले स्थानीयको घरको एकापट्टिको भित्ता भत्काएको छ । निरन्तरको वर्षासँगै जिल्लाका विभिन्न स्थानमा पहिरो, बाढी तथा चट्याङका घटना भइरहेका छन्‌ ।

यसअघि थबाङ गाउँपालिका–५, उवा कोटलबारामा बुधबार राति गएको पहिरोले ठुलो मानवीय क्षति गरेको थियो । बस्तीमाथिबाट आएको पहिरोले १२ वटा घर पुरिँदा १३ जनाको मृत्यु भएको थियो । पहिरोमा पुरिएका एक जनाको शव भने अझै फेला पर्न सकेको छैन ।

सुनछहरी गाउँपालिका–२, फलबाङ र गिच्चे मङ्ङारुका छुट्टाछुट्टै स्थानमा पहिरोले दुई घर पुरिँदा चार जनाको मृत्यु भएको थियो । लुङ्ग्रीमै चट्याङ लागेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लगातारको वर्षाका कारण जिल्लाका ग्रामीण सडकमा पहिरो खस्ने र सडक अवरुद्ध हुने क्रमसमेत बढेको छ ।

कतिपय बस्तीमा पहिरो खस्ने क्रम नरोकिएकाले स्थानीय बासिन्दा थप जोखिममा परेका छन्‌ । प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षत्रीले निरन्तरको वर्षा र चट्याङका कारण जिल्लामा अकल्पनीय मानवीय क्षति भएको बताउनुभयो ।

उहाँले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन तथा खतरा देखिए तत्काल सुरक्षित स्थानमा सर्न आग्रह गरिएको जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार वर्षाजन्य विपत्का घटनाबारे विभिन्न स्थानबाट निरन्तर सूचना आइरहेको छ । पहिरोको सम्भावना भएका बस्तीमा स्थानीय प्रशासन, प्रहरी तथा स्थानीय तहले निगरानी बढाएका छन्‌ ।

वर्षाका कारण जमिन कमजोर बनेकाले पहिरोको जोखिम अझै कायम रहेको प्रशासनले जनाएको छ । सम्भावित विपतबाट जोगिन जोखिमयुक्त स्थानमा रहेका नागरिकलाई सचेत रहन र सुरक्षित स्थानमा स्थानान्तरण हुन स्थानीय प्रशासनले सार्वजनिक अपिलसमेत गरेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस