रसुवा, २४ असार । चीनतर्फबाट आएको बाढीले रसुवास्थित नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । भोटेकोशी नदीमा आएको बाढीले मितेरी पुल बगाएको हो । पुल बगाएपछि नेपाल चीन सम्पर्क विच्छेद भएको छ ।
ड्राइपोर्ट क्षेत्रमा पनि बाढीले क्षति पुर्याएको छ । त्यहाँ जाँचपासका लागि राखिएका गाडीहरु पनि बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार आज बिहान तीन बजेतिर भोटेकोशीमा अचानक बाढी आएको हो । बाढीले अहिलेसम्म मानवीय क्षति भएको पुष्टि भइसकेको छैन ।
तर भन्सार क्षेत्रका गाडी बगाउने क्रममा त्यहाँ रहेका केही चालक, सहचालक पनि बगे कि भन्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।
प्रारम्भिक जानकारी अनुसार बाढीले अन्दाजी ६–७ वटा ईभी गाडीहरु बगाएको छ । बाढीले रसुवागढी जलविद्युत आयोजनाको ड्याममा पनि क्षति पुगेको छ ।
जिल्ला प्रशासन कार्यालयले अचानक बाढी आएकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन भनेको छ । खासगरी मैलुङ र बेत्रावती क्षेत्रका बासिन्दालाई सतर्क रहन भनिएको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बताउनुभयो ।














