दाङ । फैसला कार्यान्वयन निर्देशनालयले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिने सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न निर्वाचन आयोगलाई ताकेता गरेको छ ।
गत बिहीबार निर्वाचन आयोगलाई पत्र लेखेर फैसला कार्यान्वयन निर्देशनालयले वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार प्रदान गर्ने आदेश कार्यान्वयन गर्न भनेको हो ।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुरक्षित गर्न सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्न फैसला कार्यान्वयन निर्देशनालयले ताकेता गरेको जानकारी दिनुभयो ।
७ चैत २०७४ मै सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकारी दिने गरी कानुनी र पूर्वाधारको व्यवस्था गर्न आदेश दिएको थियो । उक्त आदेश कार्यान्वयन हुन नसकेको भनेर निर्देशनालयले निर्वाचन आयोगलाई ताकेता गरेको हो ।












