दाङ । लोक गायक तथा सर्जक रमेश ‘क्षितिज’ गिरीको नयाँ तीज गित ‘चेलिको चित्कार’ सार्वजनिक गरिएको छ । गिरीको आफ्नै युट्युव च्यानल ‘रमेश क्षितिज गिरी’बाट नयाँ तीज गित ‘चेलिको चित्कार’ सार्वजनिक गरिएको हो ।
महिलाको पीडा, चेलीको भावनात्मक वेदना र समाजमा विद्यमान अवस्थामा आधारित गितले दर्शक–श्रोताको मन छुन थालेको छ । गीतको शीर्षकजस्तै ‘चेलिको चित्कार’ ले नेपाली समाजमा महिलाले भोग्नुपरेका पीडा, कु–संस्कार र दोहोरो मान्यताको मार्मिक चित्रण गरेको छ ।

आमा पनि स्वर्गै भइन्, दाजुभाई नि टाढा
चाडवाड आउँदा माइतीकै माया झनै गाढा
फेरि नि आइसक्यो घुम्दै घुम्दै ‘तीज’
रुँदै रुँदै दिन बित्छ, रात बित्छ, मेरो त केहि छैन् खुशी हुने चिज
जस्ता शब्द गितमा निकै मार्मिक छन् ।
पछिल्लो समय तीजका गित भड्कीलो बन्दै गरेको अवस्थामा गिरीको सिर्जनाले सामाजिक सन्देशसंगै नेपाली संस्कृतीको संरक्षण गर्ने प्रयास गरेको छ । गीतको म्युजिक भिडियो समेत निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।
भिडियोलाई चलचित्र शैलीमा निर्माण गरिएको छ । जसमा एक चेलीको विवाहपछि माइती घरसँगको टुटेको सम्बन्ध र अन्तत : आत्मसम्मानको खोजमार्फत विद्रोहको स्वर समेटिएको छ ।

भिडियो निर्देशन, छायांकन र सम्पादन समेत पेशागत ढंगले गरिएको छ । कलाकारहरूको अभिनय, विशेषगरी चेली पात्रको भूमिकामा देखाइएको भावप्रवाह दर्शकको आँखामा आँसु ल्याउने खालको छ ।
गायक तथा सर्जक गिरीको लय सिर्जनामा रहेको गितमा स्वर निर्मलादेवी बस्नेतले दिनुभएको छ भने रमेश क्षितिज गिरी र शान्ता कुमार केसीले शब्द सिर्जना गर्नुभएको छ ।
गिरीका यसअघिका गितहरु ‘यो झिल्के ठिटो’, ‘धोकै–धोका छ’ जस्ता गितहरु पनि निकै चर्चित छन् । सल्यानको मालनेटामा जन्मिएर दाङको तुलसीपुरमा बस्दै आएका गिरीले पछिल्लो समय तीजलाई लक्षित गरी नयाँ गित ल्याउनुभएको हो । भिडियोमा कसम रानी ठकुरीले अभिनय गर्नुभएको छ ।
स्रोत दर्शकले यसअघिका सिर्जनालाई निकै मन पराएका कारण यसपटक आएको नयाँ तीज गित चेलिको चित्कार पनि मन पराउने गायक गिरीले अपेक्षा राख्नुभएको छ ।
गिरीले केहि समय सञ्चार क्षेत्रमा समेत काम गरिसक्नुभएको छ । २०६५ सालतिर सल्यानमा सञ्चार क्षेत्रमा काम गरेका गिरीले पछिल्लो समय गितसंगीतको क्षेत्रलाई प्राथमिकता दिनुभएको छ ।
पूरा भिडियो :
















