दाङ। नेपाली हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तिजको आगमनसँगै सांगीतिक बजारमा तिजका भाकाहरूको रौनक छाउन थालेको छ । तिज पर्व नजिकिदै गर्दा चर्चित गायक तथा मोडल एमटी महरले आफ्ना श्रोता तथा दर्शकका लागि नयाँ तिज गीत ‘कालो चश्मा’ पस्कनुहुने भएको छ ।
लामो समयदेखि नेपाली लोक सांगीतिक क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल महरको यो नयाँ कोसेली आज साँझ ठीक ८ बजे ‘एमटी महर अफिसियल’ युट्युब च्यानलमार्फत औपचारिक रूपमा सार्वजनिक गरिँदैछ ।
मौलिकता र आधुनिक रुचिलाई सन्तुलित रूपमा समेटेर तयार पारिएको यस गीतमा गायक एमटी महर र गायिका दीपिका बयम्बु मगरको जोसिलो र मिठासपूर्ण स्वर सुन्न सकिन्छ । नेपाली सुगम संगीत तथा तिज गीतका बहुचर्चित सर्जक शिव हमालका शब्द सिर्जनाले गीतलाई झनै सशक्त र जीवन्त बनाएको छ ।
दृश्य संयोजन र अभिनयका दृष्टिले पनि गीतलाई निकै आकर्षक बनाइएको छ । भिडियोमा एमटी महर स्वयं र मोडल विजया पुरीको जोडीले अभिनय गरेको छ, जसको फिचर स्टाइल लुक्सले विशेषगरी युवापुस्ताको ध्यान खिच्ने अपेक्षा गरिएको छ ।
भिडियोलाई दर्शकमाझ फरक स्वादमा प्रस्तुत गर्न बिक्रम चौहानले निर्देशन गर्नुभएको हो भने यस्तै प्रकाश खड्काले छायाँकन गर्नुभएको हो भने बी–स्टार फिल्मस््मा सम्पादन गरिएको हो ।





















