दाङ । तुलसीपुरको बसपार्क धेरै यात्रुको जमघट हुने ठाउँ हो । यहाँबाट दैनिक सयौँ यात्रु देशका विभिन्न सहरतर्फ प्रस्थान गर्छन् भने अनेकौँ यात्रु यही बसपार्कमा ओर्लने गर्छन् ।
बसपार्क प्रवेशद्वारमै रहेको यात्रु प्रतिक्षालय र पिपल चौतारी लामो समयदेखि यात्रुहरूको विश्राम स्थलका रूपमा परिचित छन् ।
यात्रुहरू बस प्रतिक्षा गर्दा बस्ने, सँगै कुराकानी गर्ने र आराम गर्ने चौतारीले सामाजिक तथा सांस्कृतिक महत्व बोकेको छ । तर पछिल्ला वर्षहरूमा संरक्षण र मर्मतको अभावका कारण चौतारी जीर्ण हुँदै गइरहेको थियो ।
यस्तो अवस्थामा तुलसीपुर–७ जितपुर निवासी समाजसेवी उपेन्द्र पौडेलको मनले चौतारीको बिग्रँदो अवस्था देखेर चुप लाग्न मानेन । उहाँले चौतारीलाई तुलसीपुरको प्रतिष्ठासँग जोडिएको साझा सम्पत्ति मानेर रंगरोगन गर्ने सोच गर्नुभयो ।
व्यक्तिगत पहलमै मंगलबार पौडेल धर्मपत्नी सरिता पौडेलसहित चौतारी पुग्नुभयो । दम्पतीले बस्ने स्थानलाई सरसफाइ गर्नुका साथै चौतारीलाई आकर्षक बनाउन रंग रोगनसमेत गर्नुभएको छ ।

‘चौतारी सबैको साझा हो, यसलाई संरक्षण गर्न राज्यलाई मात्र पर्खेर हुँदैन । हामी नागरिकले पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ ।’ समाजसेवी पौडेलले भन्नुभयो, –‘यस क्षेत्रका लागि हामीले सकेको योगदान गर्दै आएका छौँ, सबै नागरिकले सकेसम्म योगदान गर्ने हो भने मात्रै देशलाई सही बाटोमा अघि बढाउन सकिन्छ ।’
धर्मपत्नी सरिता पौडेलले पनि चौतारीमा योगदान दिन पाउँदा खुसी व्यक्त गर्दै भन्नुभयो–‘समाजलाई आवश्यक पर्ने काममा स–सानो प्रयासले पनि ठूलो प्रभाव पार्छ । हामीले सुरु गरेको यो कामले अन्य नागरिकलाई पनि प्रेरणा दिने विश्वास लिएको छौँ ।’

चौतारीको सरसफाइ र रंग रोगनपछि बसपार्क अझ आकर्षक देखिएको यात्रु राज भुषालले बताउनुभयो । ‘समाजसेवी उपेन्द्र पौडेलको काम सह्रायिन छ ।’ उहाँले भन्नुभयो–‘प्रतिदिन सयौँ यात्रुले प्रयोग गर्ने चौतारी सफा र आकर्षक बनेसँगै बसपार्कमा आउनेहरूको अनुभव पनि सहज भएको छ ।’
नागरिक स्तरबाटै यस्ता साना तर महत्वपूर्ण कामहरू निरन्तर भए बसपार्क मात्र नभई पुरा शहर नै सुन्दर र व्यवस्थित बन्ने उहाँले बताउनुभयो ।
यसअघि पनि समाजसेवी उपेन्द्र पौडेलले विभिन्न सामाजिक र सामुदायिक काममा अग्रसर हुँदै आउनुभएको छ । कोरोना महामारीको समयमा विपन्न नागरिकलाई राहत वितरणदेखि सडकमा जे्रब्रा क्रसिङ, पुलको रंगरोगन, चोकको सरसफाईजस्ता सामाजिक काममा उहाँ सक्रिय भूमिका खेल्नुभएको छ ।













