दाङ । आउँदो साउन १७ गते चलचित्र ‘चिराग’ विशेष प्रदर्शन गरिने भएको छ । चलचित्र ड्रिम्स ब्यांक्विटमा रजौरामा बिहान ७ बजेदेखि विशेष शो हुने चलचित्रका मुख्य सहायक निर्देशक मनोज कुमार आचार्यले दिनुभयो ।
महिलामा देखिने बाँझोपन र त्यसपछि परिवार तथा समाजमा भोग्नुपर्ने पीडासहित तेस्रोलिंगी जन्मिनु, तेस्रोलिंगी भएकै कारण घरपरिवार र समाजले गर्ने व्यवहार जस्ता संवेदनशील सामाजिक विषयवस्तु समेटिएको उक्त चलचित्र पारिवारिक, शैक्षिक र चेतनामूलक रहेको आचार्यले बताउनुभयो ।
चलचित्रको कथा स्वामी त्याग्मूर्ति र नरेश भट्टले लेख्नुभएको हो भने निर्देशन त्याग्मूर्तीकै रहेको छ । आचार्यका अनुसार, ट्रेलर र टिजर चाँडै सार्वजनिक गरिनेछ । चलचित्रको करिब ९८ प्रतिशत छायांकन काठमाडौं र बाँकी तुलसीपुरका विभिन्न वडामा गरिएको हो ।
हालसम्म अन्दाजी ७० लाख रुपैयाँ खर्च भइसकेको र प्रदर्शन मिति निश्चित भएपछि पोष्ट–प्रोडक्सनलगायतका काम सम्पन्न भएपछि लागत यकिन गर्न सकिने निर्माण पक्षले जनाएको छ ।
विद्यार्थीका लागि टिकट शुल्क ३०० रुपैयाँ र सर्वसाधारणका लागि ५०० रुपैयाँ निर्धारण गरिएको छ । दर्शकहरूले निर्धारित समयभन्दा १० मिनेट अगाडि उपस्थित भई आफ्नो सिट सुरक्षित गर्न आचार्यले आग्रह गर्नुभयो ।
उहाँले चलचित्र समाजमा रहेका विभिन्न विकृति र विसंगति न्यूनीकरणमा मद्दत पुग्ने विश्वास व्यक्त गर्दै, सबै उमेर समूहले हेर्न सकिने भएकाले सर्वसाधारणलाई अवलोकन गर्न आग्रह गर्नुभयो ।














