२०८२ माघ ५ गते सोमवार

वैदेशिक रोजगारीको प्रलोभनमा परेर चार सय बढी ठगिए

दाङ । वैदेशिक रोजगारीका नाममा युवाहरु ठगिने क्रम रोकिन रोकिन सकेको छैन् । दाङमा एक वर्षको अवधिमा मात्रै वैदेशिक रोजगारीको प्रलोभनमा परेर चारसय बढी व्यक्तिहरु ठगीएका छन् ।

विदेशमा राम्रो काममा रोजगारी लगाइदिने प्रलोभन देखाई रकम असुल्ने गरेको उजुरी जिल्ला प्रशासन कार्यालय दाङमा आउने गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा मात्र २८५ वटा उजुरी परेका छन् । जसबाट ४०९ जना पिडित रहेको जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत बिजय गौतमले जानकारी दिनुभयो ।

वैदेशिक रोजगारीको नाममा १७ करोड ९१ लाख २ हजार तिनसय रुपैयाँ ठगी भएको र उक्त रकम फिर्ता गरी पाउ भनि कार्यालयमा निवेदन दिएको प्रशासकिय अधिकृत गौतमले बताउनुभयो ।

कार्यालयले पीडितलाई न्याय दिलाउन पहल गर्दै आएको छ । कार्यालयले ठग्ने र ठगिएका दुबै पक्षलाई बोलाई मेलमिलाप गरी रकम फिर्ता गराउने काम गरेको बताउनुभयो ।

गत वर्ष दर्ता भएका निवेदनमध्ये ३५ वटा उजुरीको आधारमा ४ करोड ९७ लाख ४७ हजार रुपैयाँ पीडितलाई फिर्ता गराइएको र ७८ वटा उजुरीमा ठगी गर्ने व्यक्तिले रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएको गौतमले जानकारी दिनुभयो । पीडितहरू न्यायको माग गर्दै कार्यालयमा जाने गरेका छन् ।

उहाँका अनुसार धेरैजसो रुकुम पश्चिम, रुकुम पूर्व र पश्चिम दाङका व्यक्तिहरु अवैध बाटो हुँदै अमेरिकातर्फ जाने क्रममा ठगिएका छन् । यस्तै, दुबई र कतारमा वर्किङ भिसा दिलाउने भन्दै भिजिट भिसा बनाइ काम नपाई फर्किएका व्यक्तिहरुले पनि उजुरी दिने गरेको उहाँले बताउनुभयो ।

कार्यालयले प्राप्त भएका उजुरीमध्ये ३३ वटा वैदेशिक रोजगार विभाग काठमाडौं पठाइएको छ भने ८ वटा उजुरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरिएको छ । साथै १३१ वटा उजुरी उजुरी प्रहरीमा पत्राचार गरेको कार्यालयले जनाएको छ ।

प्रशासनले वैदेशिक रोजगारीका लागि जान चाहने नागरिकलाई एजेन्ट वा म्यानपावर कम्पनीमार्फत रकम बुझाउँदा सचेत रहन, आवश्यक कागजात संकलन गर्न तथा प्रमाणसहितको प्रक्रिया अघि बढाउन आग्रह गरेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस