दाङ। खेतीयोग्य जमिन तथा वस्ती जोगाउन दाङमा ६५ किलोमिटर बढिको दुरीमा नदी क्षेत्रमा तटबन्धन निर्माण गरिएको छ । जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दाङका अनुसार प्रदेश स्थापना पश्चात् आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्ममा ६५ दशमलव ४९ किलोमिटरमा नदिको कटान नियन्त्रण गर्न तटबन्धन निर्माण गरिएको छ ।
कार्यालय प्रमुख कृष्णबहादुर बिकका अनुसार नदी तटबन्धन निर्माणपछि १२ हजार ३ सय हेक्टर जमिन सुरक्षित भएको छ भने ३६ हेक्टर क्षेत्रफल जमिन नदी नियन्त्रणबाट उकास भएको छ ।
यस्तै तटबन्धन निर्माणपछि जिल्लाका विभिन्न क्षेत्रमा रहेका ७ हजार ८ सय घर सुरक्षित अवस्थामा रहेको कार्यालय प्रमुख विकले जानकारी दिनुभयो ।
कार्यालयले प्रदेश स्थापना पश्चात् आर्थिक वर्ष २०८०/८१ को असार मसान्त सम्म सिँचाइ बाँध मुहान १ सय १२ वटा, पक्की नहर र कुलो १ सय ४४ वटा, लिफ्ट सिंचाई ६७ वटा,पम्प हाउस ६७ वटा, पाइपलाइनिङ ५.२ किलोमिटर, विद्युतीकरण ४५ वटा, ७ हजार ६३२ हेक्टर क्षेत्रफलमा थप सिंचाई सुविधा र २४ हजार ८ सय ६३ एक हेक्टर क्षेत्रफलमा सिँचाई संरचना सुदृढीकरण गरेको छ ।
यसैबिच आर्थिक वर्ष २०८१/८२ मा मझौला तथा वैकल्पिक प्रविधिमा आधारित सिँचाई बाँध मुहान ६ वटा निर्माण,पक्की नहर कुलो ५.५९ किलोमिटर,पम्प हाउस एकवटा, पाइपलाइनिङ २.९८ किलोमिटर र ३हजार ६सय ३१ हेक्टर क्षेत्रफलमा सिचाई संरचना सुदृढीकरण गरेको जनाएको छ ।
सिँचाइ आयोजना मर्मत सुधार तथा विस्तारतर्फ सिंचाई बाँध मुहान निर्माण १३ वटा,पक्की नहर कुलो १३.१३ किलोमिटर,पाइपलाइनिङ १.५४ किलोमिटर र ३ हजार ३६. ७० हेक्टर क्षेत्रफलमा सिंचाई संरचना सुदृढीकरण गरेको छ । यस्तै जलाशय निर्माण तथा पोखरी संरक्षणतर्फ ५२.५० हेक्टर क्षेत्रफलमा संरचना सुदृढीकरण गरेको कार्यालय प्रमुख विकले जानकारी दिनुभयो ।
कार्यालयलाई वितेको आर्थिक वर्षमा चालुतर्फ १ करोड ५१ लाख २८ हजार र पुँजीगततर्फ ३२ करोड ७३ लाख गरी कुल ३४ करोड २४ लाख २८ हजार बजेट विनियोजन भएको थियो ।
चालुतर्फ १ करोड ३२ लाख ३५ हजार ३१९ र पुँजीगततर्फ ३१ करोड ८३ लाख ५६ हजार ६३६ गरी कुल ३३ करोड १५ लाख ९१ हजार ९५५ रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ । चालुतर्फ ८७.४९% र पुँजीगत तर्फ ९७.२७% गरी कुल ९२.३८% खर्च भएको छ ।
जल उत्पन्न प्रकोप न्यूनीकरण तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत ८७ वटा आयोजना संख्या रहेकोमा शतप्रतिशत सम्पन्न भएका छन् । सिँचाई आयोजना मर्मत सुधार तथा विस्तार कार्यक्रम अन्तर्गत १४७ वटा आयोजना रहेकोमा कार्यान्वयनमा १४५ वटा मात्र आएका छन् ।
मझौला तथा वैकल्पिक प्रविधिमा आधारित सघन सिंचाई कार्यक्रममा ३२ आयोजनामा ३२ वटै सम्पन्न भएका छन् । जलाशय निर्माण तथा पोखरी संरक्षण कार्यक्रम अन्तर्गत पाँचवटा योजना रहेकोमा शत प्रतिशत सम्पन्न भएको कार्यालय प्रमुख विकले जानकारी दिनुभयो । कार्यालयलाई गतवर्षको बजेटको तुलनामा चालू वर्षमा करिब २ करोड रकम घटेको छ ।
कार्यालय प्रमुख विकका अनुसार चालु आर्थिक वर्षमा ३२ करोड बढी बजेट विनियोजन भएको जानकारी दिनुभयो। गत वर्षसम्म ५ लाख सम्मका टुक्रे योजनाहरू हुने हुँदा कार्यान्वयनमा समस्या भएकाले चालु आर्थिक वर्षदेखि सो समस्या हट्ने जानकारी दिनुभयो । अब १० लाखभन्दा माथिका योजनाहरू रहने हुँदा कार्यान्वयनमा लैजान सजिलो हुने उहाँले बताउनुभयो ।
तुलसीपुर–१३ का वडा अध्यक्ष मोहनलाल पौडेलले बबई नदीमा निर्माण गरिएको ८ सय मिटर लामो तटबन्धन शितलपुर पुलसम्म जोड्न नसके बस्ती थप जोखिममा रहने हुँदा त्यसतर्फ गम्भीर बन्न आग्रह गर्नुभयो ।
तुलसीपुर–१२ का वडाध्यक्ष खुसीराम चौधरीले जनताका प्रत्यक्ष समस्याहरूलाई सम्बोधन गर्न आवश्यकताका आधारमा योजना तयार गर्न कार्यालयलाई सुझाव दिनुभयो ।
तुलसीपुर–९ का वडा अध्यक्ष घनश्याम ढकालले पातुखोला क्षेत्रको वस्ति संरक्षणका लागि थप पहल गर्न आग्रह गर्नुभयो ।












