दाङ । दाङको तुलसीपुरबाट दुई दिनअघि हराएका बालक सुलभ बुढाथोकी सकुशल फेला परेका छन् । श्रीकृष्ण जन्माष्टमीको दिन (साउन ३१ गते) बिहान ११ बजेतिर घरबाट लाखे नाच हेर्न भनेर निस्किएका बालक सम्पर्कबिहिन भएपछि परिवारले खोजि गरेको थियो ।
परिवारबाट सम्पर्कबिहिन भएका बालक सुलभलाई गएराती बेल्झुण्डी प्रहरी चौकीले परिवारको जिम्मा लगाएको हो । सुलभ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा बसोबास गर्दै आउनुभएका प्रेम बहादुर बुढाथोकीका १३ वर्षिय कान्छा छोरा हुन् ।
सुलभ हराएपछि परिवारले बालकको खोजिका लागि प्रहरीमा निवेदन दिएको थियो भने रेडियो हाम्रो पहुँचबाट बालक हराएको समाचार प्रकाशित भएको थियो ।
परिवारका अनुसार २/३ जना युवतीको प्रलोभनमा परेर बालक परिवारबाट सम्पर्कबिहिन भएका थिए । तुलसीपुरको घोराही रोडमा रहेको ओम शान्ति स्केट पार्कमा करिब १६/१७ वर्षका युवतीसंगै स्केट गरेको सिसिटीभि फुटेजमा देखिएपछि खोजि तिब्र पारिएको थियो ।
बालक हराएको समाचार सार्वजनिक आएपछि तुलसीपुर–१८ फोर्टीनाइनमा बालक फेला परेको खबर स्थानीयले बेलझुण्डी प्रहरी चौकीलाई जानकारी गराएका थिए ।
गएराती १० बजेतिरमात्रै बालकलाई परिवारको जिम्मा लगाएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले रेडियो हाम्रो पहुँचलाई जानकारी दिनुभयो । उहाँका अनुसार बालकलाई फोर्टीनाइनबाट उद्धार गरी बेलझुण्डी प्रहरी चौकीले परिवारको जिम्मा लगाएको हो । बालकको खोजिमा सहयोग गरिदिने नेपाल प्रहरी र स्थानीयलाई हार्दिक आभार प्रकट गरेको छ ।














