२०८२ माघ ८ गते बिहिवार

सल्यानमा जंगली च्याउ खाँदा ६ जना बिरामी


सल्यान । सल्यानमा जंगली च्याउ खाँदा ६ जना बिरामी भएका छन् । जंगलबाट ल्याएको च्याउ खाँदा सल्यानको त्रिवेणी गाउँपालिका १ काभ्रा घर भएका २९ वर्षीया देवी बोहरा, उहाँका आमा ७७ वर्षीय हर्कली राङ्गमगर, काभ्राकै ५६ वर्षीया पवि बोहरा, उहाँका १५ वर्षीया छोरी पवित्रा बोहरा, छोरा २१ वर्षीय लीलाराम बोहरा र शारदा नगरपालिका ४ साईलाकम्तकी पवित्रा बस्नेत बिरामी परेका हुन् ।

बिरामी परेका सबैको जिल्ला अस्पताल सल्यानमा उपचार भैरहेको छ । बिरामी परेका सबैले हिजो बुधबार दिउँसो जंगलबाट खोजेर ल्याएको च्याउ पकाएर खाएका थिए । च्याउ खाएका सबैलाई बान्ता हुने, छिनछिनमा दिसा लाग्ने, ज्वरो आउने, पेट दुख्ने समस्या देखिएको थियो ।

बिरामी परेका सबैको अवस्थामा सुधार आएको जिल्ला अस्पताल सल्यानमा एमडिजिपी डाक्टर तथा स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त प्रमुख बुद्धिनाथ शाहले बताउनुभयो । सल्यानमा जंगली च्याउ खाएर बिरामी अस्पतालमा उपचार गर्न आइरहने गरेका उहाँले जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस