दाङ । रसुवामा गत भदौ १० गते आएको बाढीमा परी मृत्यु भएका तुलसीपुर उपमहानगरपालिकाका १० घर परिवारलाई विभिन्न व्यक्ति तथा संस्थाले सहयोग गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका–१९ का ९ र तुलसीपुर–१८ का एक गरी १० परिवारलाई विभिन्न व्यक्ति तथा संस्थाले सहयोग गरेका हुन् ।
नेवार संघ समितिका सदस्य तथा डिजिटल कम्प्युटर एन्ड इलेक्ट्रोनिक पसलका सञ्चालक प्रकाश श्रेष्ठले मृतक परिवारका लागि ५५ हजार रुपैयाँ नगद सहयोग गर्नुभएको छ ।
यस्तै तुलसीपुर–६ का निवर्तमान वडा अध्यक्ष नवराज लामिछानेले १० परिवारलाई एक–एक थान ब्लाङ्केट सहयोग गर्नुभएको छ । तुलसीपुर–१९ स्थित गणेशगंगा आमा समूहले पनि बाढीमा परी मृत्यु भएका ९ परिवारलाई एक–एक बोरा खाद्यान्न सहयोग गरेको छ ।
तुलसीपुर–१९ का वडा अध्यक्ष प्रेमनाथ योगीकोे अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरू पूर्णबहादुर बुढाथोकी, रेवती विक, तुलसीपुर–६ का निवर्तमान वडा अध्यक्ष नवराज लामिछाने, नेवार संघ समितिका जिल्ला उपाध्यक्ष पुष्कर श्रेष्ठ, नगर अध्यक्ष शिव श्रेष्ठ, नगर कोषाध्यक्ष राजकुमार श्रेष्ठ, नगर सदस्य प्रकाश श्रेष्ठ, नेकपा एमाले तुलसीपुर–१९ का वडा अध्यक्ष लोकबहादुर रोका, पूर्व जनप्रतिनिधि तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
सहयोग हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष योगीले विपद्को समयमा पीडित परिवारलाई सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संस्था तथा दाताहरूलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । उहाँले दुःखमा परेका परिवारलाई स्थानीय तह, सामाजिक संस्था, समूह तथा व्यक्तिहरूबाट प्राप्त सहयोगले राहतसँगै मनोबल बढाउन सहयोग पुग्ने बताउनुभयो । कार्यक्रमको सहजीकरण वडा सचिव सुनिता थापाले गर्नुभएको थियो ।

























