दाङ। व्यवसाय दर्ता तथा नवीकरणलाई प्रभावकारी बनाउँदै राजस्व वृद्धि गर्ने उद्देश्यले तुलसीपुरमा कर सचेतना कार्यक्रम गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा तुलसीपुरको वीरेन्द्र चोकमा कार्यक्रम गरिएको हो ।

व्यवसायीलाई कर तथा व्यवसाय दर्ता–नवीकरणको महत्वबारे जानकारी गराउँदै राजस्व वृद्धि र व्यवस्थित बजार निर्माणमा सहकार्यका लागि कार्यक्रममार्फत आग्रह गरिएको थियो ।
कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले राजस्व वृद्धि गर्न कर प्रणालीलाई थप सरल र सहज बनाउनुपर्ने बताउनुभयो । व्यवसाय दर्ताका क्रममा तीनै तहका सरकारमा छुट्टाछुट्टै दर्ता गर्नुपर्ने प्रावधानले व्यवसायीलाई असहज बनाएको भन्दै उहाँले सरलीकृत प्रणाली आवश्यक रहेको बताउनुभयो ।
तुलसीपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बिमल रिजालले बजार व्यवस्थापनमा टोल विकास संस्था, वडा, व्यवसायी तथा सम्बन्धित निकाय सबैको जिम्मेवारी रहने बताउनुभयो । सबै पक्षले आ–आफ्नो दायित्व पूरा गरेमा बजार व्यवस्थापन सहज हुने उहाँको भनाइ थियो ।
नामीनगर टोल विकास संस्थाका अध्यक्ष पूर्णप्रसाद धितालले राज्यलाई कर बुझाएबापत व्यवसायीले पनि त्यसअनुसारको सेवा तथा सुविधा प्राप्त गर्न पाउनुपर्ने बताउनुभयो ।
बजार व्यवस्थापन समितिका सदस्य एवं तुलसीपुर–५ का वडा सदस्य भीमबहादुर केसीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख पुष्पराज पौडेल, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमबहादुर पराजुली, उपभोक्ता हित संरक्षण शाखा प्रमुख राजु श्रेष्ठ, राजस्व शाखा प्रमुख कर्णबहादुर हमाल, बजार प्रशासन सहायक खेमकान्त पाण्डे, नगर प्रहरी प्रमुख ऋषिराज पछाईलगायतको उपस्थिति थियो ।
उद्योग व्यवसाय प्रवद्र्धन शाखा प्रमुख अमृत दाहालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कुन्ता भण्डारीले गर्नुभएको थियो ।
कार्यक्रमस्थलमै व्यवसाय नवीकरणसमेत गरिएको थियो । न्यू तुलसीराम भाँडा पसलको व्यवसाय नवीकरण गरिएको हो ।

























