दाङ । मोबाइलको अत्याधिक प्रयोगले बालबालिकालाई एक्लोपन बनाउँदै गएकोप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ को नवज्योति टोलमा शनिबार आयोजना गरिएको सुनौलो भविष्य नामक कार्यक्रममा सरोकारवालाले प्रविधिको अत्याधिक प्रयोगले बालबालिका सामाजिकपनबाट हराउन थालेको बताएका छन् ।
सरोकारवालाले बालबालिकालाई परिवार र समाजमा घुलमिल गराउनुपर्ने आजको प्रमुख आवश्यकता रहेकामा जोड दिएका छन् । कार्यक्रममा दाङ भ्याली मावि तुलसीपुरका अध्यक्ष तिलक शाहुले बालबालिकालाई सामाजिक बनाउनका लागि खेलकुद, टोलको बैठक, घरपरिवारसंगको सामुहिक बसाई लगायतमा अनिवार्य सहभागी गराउनुपर्ने बताउनुभयो ।
उहाँले प्रविधिको विकाससंगै बालबालिकाले अत्याधिक मोबाइल चलाउँदा मानसिक संगै शारिरीक स्वास्थ्यमा गम्भिर असर देखिन थालेकाले अभिभावक र घरपरिवार बेलैमा सचेत बन्नुपर्ने बताउनुभयो । कोठामा एक्लै मोबाइल चलाएर बस्दा आजका बालबालिका घरपरिवार र समाजसंग घुलमिल हुन नसकिरहेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
टोल विकास संस्थाका अध्यक्ष भागवत केसीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा टोल विकास संस्थाका सचिव उत्तम केसी, टाइगर युवा क्लबका पूर्व अध्यक्ष प्रेम प्रकाश मल्ल, वरिष्ठ प्रहरी हवल्दार ज्ञान बहादुर गुरुङ लगायतले असल र नैतिकवान जनशक्ति निर्माणका लागि घरमा असल संस्कारको विकास गर्नुपर्ने बताउनुभयो ।















