२०८२ फाल्गुन २९ गते शुक्रवार

दाङमा मानव अधिकार तथा शान्ति समाजको २८ औं साधारण सभा

दाङ, १४ भदौ । “नागरिक आकांक्षा, नागरिक स्वतन्त्रता र नागरिक सर्वोच्चता” भन्ने मूल नारासहित मानव अधिकार तथा शान्ति समाज दाङ शाखाको २८ औं साधारण सभा शनिबार तुलसीपुरमा सम्पन्न भएको छ ।

कार्यक्रममा शान्ति समाज दाङका सभापति कमल डिसीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री माननीय डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काको विशेष आतिथ्यतामा कार्यक्रम गरिएको हो ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय महासचिव प्रकाश शाहीले हाल राज्यले ल्याएको ‘प्रतिगामी विधेयक’ विरुद्ध समाज निरन्तर खबरदारीमा रहेको उल्लेख गर्दै सो विधेयक निजी क्षेत्र, महिला, शिक्षक, सुन व्यवसायी लगायतका वर्गविरुद्ध जान सक्ने खतरा रहेको बताउनुभयो । उहाँले समाजले राज्यलाई जवाफदेही र पारदर्शी बनाउने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समाजका पूर्व केन्द्रीय उपसभापति मोहन धितालले लोकतन्त्रको नाममा राजनीति भइरहेको गुनासो गर्दै अझै प्रदेश कानुन निर्माणमा ढिलाइ भएको बताउनुभयो । उहाँले सत्ताधारीहरूले आफ्ना अनुकूल कानुन ल्याउने प्रयास गर्दा समाजले त्यसमा हस्तक्षेप गर्दै आएको बताउनुभयो ।

साधारण सभामा दंगिशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी, समाजका केन्द्रीय सचिव तुलसीराम सुनार, राष्ट्रिय अपाङ्ग महासङ्घ लुम्बिनीका उपाध्यक्ष देवा डाँगी, ज्येष्ठ नागरिक लुम्बिनी प्रदेशका अध्यक्ष खुमानन्द अधिकारी, कर्णाली प्रदेश सचिव डिल्लि प्रसाद जैसी, सुर्खेत सभापति दीपक गौतम, जानुका केसीलगायतले शुभकामना मन्तव्य राख्नुभएको हो ।

कार्यक्रममा संस्थाको आर्थिक प्रतिवेदन सदस्य रजनी शाहले र सांगठनिक प्रतिवेदन महासचिव माधव बस्नेतले प्रस्तुत गर्नुभएको हो । समाजका उपसभापति अमृत शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव बस्नेतले गर्नुभएको हो । हालसम्म मानव अधिकार तथा शान्ति समाजमा १०३ जना आजीवन सदस्य रहेको समाजले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस