२०८२ माघ ५ गते सोमवार

वेपत्ता नागरिकको खोजीमा सरकार गम्भीर नभएको पीडित परिवारको आरोप


दाङ । सरकारले २०६३ मंसिर ५ मा भएको विस्तृत शान्ति सम्झौतामार्फत सशस्त्र द्वन्द्वको अन्त्य गर्दै दुवै पक्षले वेपत्ता पारिएका व्यक्तिहरुको अवस्था तत्काल सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तर त्यो विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १९ वर्ष पुगिसक्दा पनि उक्त प्रतिबद्धता पूरा हुन सकेको छैन ।

सरकारी तथ्याङ्कअनुसार, दाङ जिल्लाबाट मात्रै १२६ जना मानिसहरु अझै पनि वेपत्ता छन् भने नेपाल रेडक्रस सोसाइटीको तथ्याङ्क अनुसार यो संख्या ८२ जना रहेको छ । नेपाल रेडक्रस सोसाइटी दाङ शाखाले शनिवार तुलसीपुरमा आयोजना गरेको अन्तर्राष्ट्रिय वेपत्ता दिवसका अवसरमा वेपत्ता नागरिकका परिवारले हराएका आफन्तहरुको खोजीमा सरकार गम्भीर नभएको बताएका छन् ।

तुलसीपुर–१५ पहरुवाबाट २०५९ साल भदौ २१ गते चनकलाल चौधरीलाई आफ्नै घरबाट राज्य पक्षका सुरक्षाकर्मीहरूले लगेपछि अहिलेसम्म फिर्ता आएका छैनन् । वेपत्ता रहेका चनकलालका भाई परशुराम चौधरीका अनुसार त्यो दिन दाजु सहित ६ जना घरैबाट राज्य पक्षबाट वेपत्ता पारिएका हुन् । तर अहिलेसम्म दाजुको अवस्थाबारे परिवार बेखबर छ ।

तुलसीपुर–१५ का सोमराज चौधरी घर फर्कने आशामा उनको परिवार विश्वस्त छ । २५ वर्षको उमेरमा २०५९ भदौ २१ गते घरमा गुरही पूजा गरेर स्थानीय चौवा खोलामा पूजा गर्न गएका थिए । त्यही बेला उनी खोलाबाटै वेपत्ता भएको उनकी श्रीमती रतिकलामति चौधरीले बताउनुभयो । त्यो दिन सोमराजसहित गाउँका ८ जना वेपत्ता भएका थिए । दुई जना केही समयपछि परिवारको सम्पर्कमा आए पनि सोमराजसँगै हराएका ६ जना अहिले सम्म कसैको अत्तोपत्तो छैन परिवारलाई । तर सोमराज फर्कने आशामा बसेको छ रतिकलामतिको परिवार ।

घोराही उपमहानगरपालिका–११ जितपुरकी मञ्जु चौधरी १८ वर्षकी थिइन् । २०५९ साल जेठ २ गते साँझ नजिकैको गाउँमा पूजाको निम्तोमा गएकी उनी कहिल्यै घर फर्किन सकिनन् । उनका दाजु फलेराम चौधरी वहिनीलाई सम्झँदै, राज्य पक्षले वेपत्ता पारेको २३ वर्ष बितिसक्दा समेत आफूहरूले न्याय नपाएको बताउनुहुन्छ ।

तुलसीपुर–१५, गब्दवाका सुर्जी चौधरीका श्रीमान लक्ष्मण चौधरी र छोरा टेकबहादुर चौधरी पनि २०५९ साल भदौ २१ गते एकैदिन घरैबाट वेपत्ता भए । छोरा ६ महिनापछि बल्लतल्ल घर आइपुगे पनि श्रीमान भने अहिलेसम्म वेपत्ता हुनुहुन्छ । राज्यले सान्त्वना मात्र दिने तर वेपत्ता भएका नागरिकको अवस्था जानकारी दिन नसक्दा पारिवारिक पीडा त छदै छ, विभिन्न समस्या भोग्नुपरेको दुःखेसो पोख्नुभयो । श्रीमान वेपत्ता भएपछि मृत्यु दर्ता समेत उहाँले गराउन सक्नुभएको छैन । जसका कारण राज्यले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता समेत प्राप्त गर्न नसकेको बताउनुभयो ।

विस्तृत शान्ति सम्झौता भएको १९ वर्ष पुगिसक्यो, तर राज्यले वेपत्ता नागरिकबारे कुनै ठोस कदम चाल्न सकेको छैन । समयमै न्याय नदिनु आफैंमा अन्याय हो । यही कारण फेरि विद्रोह हुने अवस्थाको सिर्जना राज्यले नै तयार गरेको द्वन्द्वपीडित सञ्जाल दाङका अध्यक्ष प्रकाश चौधरीले बताउनुभयो । सरकार गम्भीर बनेर वेपत्ता पारिएका हरुको खोजीमा लाग्नुपर्ने जिम्मेवारीबाट पन्छिन खोजेको समेत आरोप लगाउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी दाङ शाखाका सभापति मदन गौतमको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथि खड्काले पीडित परिवारलाई लक्षित कार्यक्रममार्फत आय–आर्जनसँग जोड्ने कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै त्यस्ता कार्यमा जोडिन आग्रह गर्नुभयो । साथै सो परिवारलाई निःशुल्क शिक्षा प्रदान पालिकामार्फत समन्वय भएर कार्यान्वयन गरिएको जानकारी दिनुभयो । सो अवसरमा वेपत्ता भएका नागरिकहरुको सम्झनामा दिप प्रज्वलन गरिएको थियो ।

द्वन्द्वपीडित सञ्जाल दाङका अध्यक्ष प्रकाश चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण रेडक्रस दाङका मन्त्री प्रकाश श्रीवन्दले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस