
एजेन्सी । पूर्वी अफगानिस्तानमा ६ रेक्टर स्केलको भूकम्प जाँदा २० जनाभन्दा बढीको मृत्यु भएको छ । नङ्गरहार र कुनार प्रान्तका अस्पतालहरूमा ११५ जनाभन्दा बढी घाइतेहरूलाई लगिएको बीबीसीले जनाएको छ ।
अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार भूकम्प आइतबार राति ११ः४७ बजे स्थानीय समयमा जमिनको सतहबाट ८ किलोमिटर (५ माइल) गहिराइमा गएको थियो । त्यसयता कम्तीमा तीन परकम्पहरू आइसकेका छन्, जसको तीव्रता ४.५ देखि ५.२ सम्म रहेको छ ।
एएफपी समाचार संस्थाका अनुसार भूकम्पका कम्पनहरू अफगानिस्तानको राजधानी काबुल (करीब २०० किलोमिटर टाढा) र पाकिस्तानको राजधानी इस्लामाबाद (झन्डै ४०० किलोमिटर टाढा)सम्म महसुस गरिएको थियो ।
मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ, किनकि प्रभावित क्षेत्रहरू दुर्गम छन्, भू–भाग विकट छ र त्यहाँका घरहरू सामान्यतया भूकम्प प्रतिरोधी छैनन् ।