दाङ, २० भदौ । दाङको घोराहीमा फोहोरबाट ग्याँस निकाल्ने प्लान्ट अलपत्र पर्न थालेको छ । दैनिक करिब ६० देखि ६५ घन मिटरसम्म ग्याँस उत्पादन हुने गरेकोमा फोहोर पेल्ने मेसिन बिग्रेका कारण उत्पादन नै बन्द भएको छ ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, नेपाल ऊर्जा विकास कम्पनी प्रा.लि. र घोराही उपमहानगरपालिकाबीच २०७५ मंसिर ५ गते त्रिपक्षीय सम्झौता भई फोहोरबाट ग्याँस उत्पादन गर्ने काम शुरु गरिएको थियो ।
घोराही उपमहानगरपालिका–१६ करौतीडाँडामा फोहोरबाट ग्याँस उत्पादन गर्ने भनी २०७८ चैत १९ गते बायोग्याँस प्लान्टको उद्घाटन गरिएको थियो । उद्घाटनको चार वर्षसम्म नागरिकलाई ग्याँस पुर्याउन सकिएन भने नाफामूलक बायोग्याँस प्लान्ट बनाउने कम्पनी पनि घाटामै चलिरहेको छ ।
महिनाको दुई/अढाई लाख उल्टो खर्च भइरहेको कम्पनीले जनाएको छ । नेपाल ऊर्जा विकास कम्पनी प्रालिका प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठले फोहोर नपुग्दा ग्याँस उत्पादन हुन नसकेको बताउनुभयो ।
श्रेष्ठले दैनिक २५ टन फोहोर संकलन हुने हिसावले बायो ग्याँस प्लान्ट बनाइए पनि हाल १५ टन दैनिक आवश्यक पर्नेमा एक टन फोहोर पनि जम्मा हुन नसकेको बताउनुभयो ।
फोहोरबाट ग्याँस उत्पादनका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ४० प्रतिशत रकम, नेपाल ऊर्जा विकास कम्पनी प्रालिले ६० प्रतिशत बेहोर्ने सहमति भएको छ भने घोराही उपमहानगरपालिकाले संरचना निर्माणका लागि करिब तीन बिगाह जग्गा उपलब्ध गराएको छ । ग्याँस प्लान्ट दुई हजार घनमिटरको रहेकोे छ फोहोरबाट ग्याससँगै कम्पोस्ट मलसमेत उत्पादन गर्ने गरी कम्पनी र नगरपालिकाबीच २० वर्षको सम्झौता गरिएको छ ।
२० वर्षका लागि कम्पनीले घोराही उपमहानगरपालिकालाई नाफाको एक प्रतिशत रकम दिने सहमति भएको घोराही उपमहानगरपालिका सरसफाइ व्यवस्थापन शाखाका प्रमुख लक्ष्मण अधिकारीले जानकारी दिनुभयो । नयाँ युगबोध राष्ट्रिय दैनिकमा सन्तोष खनालले खबर लेख्नुभएको छ ।















