दाङ। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हरिप्रसाद रिजालले दाङको टरिगाउँ विमानस्थल विस्तारको काम परिणाममुखी ढङ्गले अघि बढ्नुपर्ने बताउनुभएको छ । उहाँले टरिगाउँ विमानस्थल विस्तारको विषय अब राजनीतिक आरोप–प्रत्यारोप र चुनावी नारामा सीमित नराखि परिणाममुखी ढङ्गले अघि बढाउनुपर्ने बताउनुभएको हो ।
विमानस्थल दाङवासीको दशकौँदेखिको अपेक्षा, आर्थिक सम्भावना र सहज आवागमनसँग जोडिएको महत्वपूर्ण सार्वजनिक पूर्वाधार भएकाले यसको विस्तारका लागि बजेट विनियोजन हुनु सकारात्मक सुरुवात भएकाले अब परिणाममुखी ढङ्गले अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।
नेता रिजालले विमानस्थल विस्तारका लागि प्राविधिक रूपमा उपयुक्त विकल्पको टुङ्गो, आवश्यक जग्गाको न्यायोचित व्यवस्थापन, पर्याप्त बहुवर्षीय बजेट, सम्बन्धित निकायको स्पष्ट भूमिका र निर्माणको समयसीमा सार्वजनिक गर्नुपर्ने बताउनुभएको छ ।
जग्गा व्यवस्थापन गर्दा स्थानीय नागरिकको अधिकार, उचित मुआब्जा र न्यायपूर्ण प्रक्रियालाई प्राथमिकता दिनुपर्ने भन्दै उहाँले तुलसीपुर उपमहानगरपालिका, जनप्रतिनिधि, स्थानीय नागरिक, नेपाल नागरिक उड्डयन प्राधिकरण र संघीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।
‘टरिगाउँ विमानस्थलको विकास दाङको साझा सपना हो, यसको सफल कार्यान्वयन हाम्रो साझा जिम्मेवारी हो । अब अर्को आश्वासन होइन, कामको प्रगति देखिनुपर्छ ।’ रिजालले भन्नुभएको छ ।
नेता रिजालले विगतका कमजोरीबाट सिकेर विमानस्थललाई घोषणाबाट कार्यान्वयनमा, बजेटबाट निर्माणमा र निर्माणबाट नियमित तथा भरपर्दो हवाई सेवामा पुर्याउनुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले टरिगाउँ विमानस्थललाई राजनीतिक विवादको विषय नभई समयसीमा, बजेट र जवाफदेहितासहित सम्पन्न गर्नुपर्ने सार्वजनिक प्रतिबद्धताको विषय बनाउनुपर्ने बताउनुभएको छ ।

























