तुलसीपुर । तुलसीपुर कारागारबाट भागेका २५३ कैदीबन्दीमध्ये ७१ जना पक्राउ परेका छन् । सुरक्षाकर्मीको सहयोगमा ती कैदी बन्दीलाई पक्राउ गरेको तुलसीपुर कारागार कार्यालयका जेलर गिरबहादुर सेजुवालले जानकारी दिनुभयो ।
भागेका मध्ये अझै १८२ जना फरार रहेका छन् । फरारको खोजीकार्य जारी रहेको कारागार प्रशासनले जनाएको छ ।
भदौ २४ गते १२४ जना र २५ गते १२९ जना गरी कुल २५३ कैदीबन्दीले जेनजी आन्दोलनको क्रममा कारागारको सुरक्षा घेरा तोडेर भागेका थिए । तीमध्ये अहिले सम्म ७१ जना मात्र पक्राउ परेको जेलर सेजुवालले जानकारी दिनुभयो ।
कारागारमा ६ जना आश्रित बालबालिका सहित हाल ४६९ कैदीबन्दी रहेका थिए । जसमा ४०० जना पुरुष र ६३ जना महिला रहेका छन् ।
जेलर सेजुवालका अनुसार धेरैजसो कैदी आफन्तको घरमा लुकेर बसेको पाइएकाले आफन्तले जानकारी गराएपछि पक्राउ गर्न सहज भएको हो ।
करागारबाट कैदीबन्दी भागेपछि समाजमा त्रास पैदा भएको छ । विभिन्न अपराध गरेर कारागारसम्म आएका कैदी बन्दी भाग्दा पिडित परिवारमा त्रास हुनुका साथै न्याय पाउने आशा पनि हराउन सक्ने देखिन्छ ।
भागेका कैदीबन्दीले चोरी, लुटपाट तथा हिंसात्मक गतिविधि बढाउने सम्भावना रहेको भन्दै स्थानीय समुदाय त्रसित बनेको उहँँले बताउनुभयो । गम्भीर अपराध गरेका कैदीबन्दी फरार हुँदा पिडित परिवारमा त्रास मात्र नभई न्यायप्रति आशा पनि हराउन सक्ने देखिएको उहाँको भनाइ छ । साथै पुराना आपराधिक गतिविधि दोहोर्याउने सम्भावना हुने जेलर सेजुवालले बताउनुभयो ।
यसैबीच जिल्ला प्रशासन कार्यालय दाङले पनि कारागारबाट भागेका कैदी बन्दीहरुलाई सम्पर्कमा आउन सूचना जारी गरी सकेको छ ।
प्रमुख जिल्ला अधिकारी विश्व प्रसाद अर्यालद्वारा जारी सूचनामा फरार रहेका कैदीबन्दीहरुलाई आफू बसेको कारागार, तुलसीपुर वा नजिकको प्रहरी कार्यालयमा सम्पर्कमा आउन भनिएको छ ।
अन्यथा कारागार ऐन २०७९ तथा प्रचलित कानुन बमोजिम कारबाही गरिने जनाइएको छ ।












